बढ्यो दूधको मूल्य, कुन दूधमा कति बढ्याे ?

काठमाडौं, २ चैत । दूग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य बढाएको छ ।

संस्थानले बिक्री गर्ने चार प्रकारका दूधमा प्रतिलिटर न्युनतम् १० रुपैयाँदेखि अधिकतम् १६ रुपैयाँसम्म मूल्य बढाएका छन् ।

संस्थानको बुधबार बसेको सञ्चालक समिति बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको थियो । बढेको मूल्यअनुसार सबैभन्दा धेरै बिक्री हुने निलो प्याकेटको स्ट्याण्डर्ड दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढेर ९७ रुपैयाँ पुगेकाे छ ।

संस्थानका अनुसार यो मूल्य काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा र वीरगन्ज क्षेत्रमा लागू हुनेछ ।

यस्तै लुम्बिनी प्रदेशमा प्रतिलिटर ९४ रुपैयाँ मात्रै तोकिएको छ भने नेपालगन्ज र धनगढीमा स्ट्याण्डर्ड दूधको मूल्य प्रतिलिटर ९२ रुपैयाँ तोकिएको छ ।

संस्थानले फूल क्रिम भएकाे दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुर्याएकाे छ । यो दूधमा संस्थानले लिटरमा १६ रुपैयाँले मूल्य वृद्धि गरेको हाे । विराटनगर भने यस्तो दूधको मूल्य ११४ रुपैयाँबाट बढेर १२० रुपैयाँ पुर्‍याइएको छ ।

गाईको दूध लिटरमा ११६ रुपैयाँ पुर्‍याइएको छ । यो दूधमा प्रतिलिटर १४ रुपैयाँले मूल्य बढाएकाे छ । बजारमा चिया पकाउन प्रयोग हुने लो-फ्याट चिया दूधको मूल्य भने लिटरमा १० रुपैयाँले बढाएर ८० बाट ९० पुर्याइएकाे छ । अब ४० रुपैयाँमा पाइने आधा प्याकेट दूधको मूल्य ४५रुपैयाँ पुगेकाे छ।