ईश्वर पोखरेलको ५० वर्षे राजनीतिक जीवनका आरोह अवरोहको बेलीबिस्तार (भिडियो संवाद)

काठमाडौं, ४ चैत । चैत २ गते बिहीबारको मध्यान्हमा चक्रपथ छिचोल्दै करीब दुई किलोमिटरको दूरीमा रहेको धापासी कुँवर कोलनी पुग्दा नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेलको निवासमा त्यतिधेरै भिडभाड थिएन । उहाँको निवासमा पुगेर गेट टकटक बजाएपछि गेट खुल्यो ।

गेट नजिकै रहनु भएका पोखरेलका पीएसओ वरिष्ठ सही अशोक पोखरेलले हामीलाई स्वागत गर्नुभयो । उहाँसँगै हामी भित्र पुग्दा वरिष्ठ उपाध्यक्ष पोखरेल हाम्रै प्रतिक्षामा हुँनुहुँदो रहेछ । उहाँले हामीलाई मुस्कानसहित स्वागत गर्नुभयो । हामीले उहाँलाई ‘आज त भिडभाड कम रहेछ नि ?’ भनेर प्रश्न गर्दा उहाँले पनि सहज जवाफ फर्काउँदै भन्नुभयो– ‘अहिलेको समय तपाईँहरुका लागि हो । त्यसैले अरु भेटघाट थिएनन् । केही महत्वपूर्ण भेटघाटलाई पनि आज ‘क्यान्सिल’ गरेँ ।

२०१० सालको फागुन २५ गते पूर्वी नेपालको विकट जिल्ला ओखलढुंगाको माम्खामा जन्मिनु भएका पोखरेलसँग हामीले मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा भन्दा पनि उहाँले भर्खरै ओठमाथि जुँघाको रेखी बस्दादेखि अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टीको उतारचढावमा भोकेका भोगाइ, संगालेका अनुभव, पार्टीमा सम्हालेका जिम्मेवारी, राजकीय जिम्मेवारी, भूमिगत राजनीति, सार्वजनिक जीवनमा भोकेको राजनीतिलगायका विषयमा केन्द्रित भएर कुराकानी गर्ने तयारी गरेका थियौँ ।

हाम्रो प्रस्तावलाई स्वीकार गर्नुभएका पोखरेल दिनहुँ टेलिभिजन र पत्रपत्रिका अनि अनलाईनमा सोधिने प्रश्न भन्दा फरक खालको हाम्रो प्रस्तावबाट केही रोमाञ्चित देखिनु भएको थियो ।
भर्खरै ओठमाथी जुघाँको रेखी बस्दा अर्थात् २०२७ सालमा कम्युनिष्ट पार्टीमा आवद्ध पोखरेल अहिलेसम्म पनि अविराम त्यहि आन्दोलनमा सक्रिय हुनुहुन्छ । २०३२ सालमा कोर्डिनेशन केन्द्रको केन्द्रीय समितिको जिम्मेवारीमा रहेर काम गर्नुभएका पोखरेल २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले)को संस्थापक केन्द्रीय सदस्य बन्नुभएको थियो । हामीले उहाँसँग औपचारिक कुराकानी गर्नु भन्दा अघि उहाँको ५० वर्षे राजनीतिक यात्राको संग्राहलयबारे केही खोतल्ने प्रयास गर्यौ । कुराकानीका सिलसिलामा उहाँ हामीसँग निकै गज्जबले खुल्नुभयो । चैतको पहिलो हप्ताको मौसममा हामी उहाँको निवास वरपर रहँदा मौसम कुनै समय उहाँ जस्तै खुल्थ्यो भने कुनै बेला उहाँले ५० वर्षे राजनीतिक यात्रामा विताएको १५ वर्षे भूमिगत राजनीति जस्तै अध्यारो बनिदिन्थ्यो ।

चैतको पहिलो हप्ताको मौसममा हामी उहाँको निवास वरपर रहँदा मौसम कुनै समय उहाँ जस्तै खुल्थ्यो भने कुनै बेला उहाँले ५० वर्षे राजनीतिक यात्रामा विताएको १५ वर्षे भूमिगत राजनीति जस्तै अध्यारो बनिदिन्थ्यो

चराका चिरविर आवाजसहित उहाँसँग कुराकानी गर्नु अघि उहाँले आफनो जीवनी हामीलाई थमाउनुभयो । २०४६ साल भदौमा चौथो महाधिवेशन र त्यसपछि २०४७ सालमा बनेको नेकपा (एमाले)को केन्द्रीय सदस्य बन्नुभएका पोखरेल २०५३ सालमा स्थायी कमिटी र ०५८ सालमा केन्द्रीय सचिवालय हुँदै ०५९ मा संगठन विभागको प्रमुखको जिम्मेवारीमा रहेर काम गर्नुभएको रहेछ ।

२०६५ सालमा बुटवलमा भएको आठौँ महाधिवेशनबाट महासचिव बन्नुभएका पोखरेल ०७१ मा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनबाट पनि महासचिव नै बन्नुभएको थियो । चितवनमा ७८ मंसिरमा सम्पन्न १० औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष बन्नुभएका पोखरेलले उद्योग, बाणिज्य, आपूर्तिमन्त्री, परराष्ट्रमन्त्री र उपप्रधान तथा रक्षामन्त्रीको समेत जिम्मेवारीमा रहेर काम गर्नुभएको छ ।

लेखनमा विषेश रुचि राख्ने पोखरेलले हामीलाई भेटघाटका क्रममा उहाँले लेखेका पुस्तक र सन्दर्भबारे पनि जानकारी गराउनुभयो । उहाँको पुस्तकालय, कार्यकक्ष, उहाँले इतिहासदेखि सजाएर राखेका दस्तावेजहरु सबैको अवलोकनपछि हामीउहाँसँग औपचारिक कुराकानीमा केन्द्रितभयौँ । उहाँको ५० वर्षे राजनीतिक जीवनको आरोह अवरोहको नालीबेलीबारे उहाँसँग गरेको भिडियो कुराकानी ।