सञ्चारमन्त्री रेखा शर्माद्वारा प्रस्तुत विधेयकमा एमालेकाे आपत्ति

काठमाडौं, ५ चैत्र । सञ्चारमन्त्री रेखा शर्माद्वारा संसदमा पेस गरिएकाे विधेयक प्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

नेकपा एमालेका का सांसद रघु पन्तले प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएपनि सञ्चारमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकोप्रति आपत्ति जनाएको हाे ।

नेकपा एमालेका पन्तले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रश्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको बेलामा अन्य मन्त्रीलाई किन लगाइयो ? भन्ने औचित्य पुष्टि गर्न माग गरे ।

पन्तले भने, ‘यो संसदको गरिमा त्यसबेला बढ्छ जब सरकार जन्माउने संसदलाई प्रधानमन्त्रीले महत्व दिन्छ । संसदमा उपस्थित प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्रीले प्रस्तुत गर्ने विधेयक अर्को मन्त्रीलाई दिनुको औचित्य यो संसदको गरिमालाई अवहेलना हो’।

सरकारका तर्फबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरूले विरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ माग गरेका हुन् ।