रासायनिक मलमा सरकारले गरेको अनुदान कटौती अनुचितः महासचिव पोखरेल

काठमाडौं, ५ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले रासायनिक मलमा सरकारले गरेको अनुदान कटौती सर्वथा अनुचित रहेको वताउनुभएको छ ।

मुलुकको समृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रयोगलाई प्रोत्साहनका साथै सरकारले कृषि क्षेत्रमा अनुदान बृद्धि गर्नुपर्नेमा रासायनिक मलमा अनुदान कटौती गरेर किसानलाई कृषिप्रति दुरुत्साहित गर्ने काम गरेको वताउँदै महासचिव पोखरेलले सरकारले निर्णय सच्याउनुपर्ने धारणा राख्नुभयो ।

नेकपा (एमाले) कृषि तथा पशुपंछी विकास विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभयो– कृषि उत्पादनलाई बृद्धि गरी विश्व बजारमा पुर्याउनसक्ने अवस्थामा पुग्न मल र बीउमा अनुदान कायम गरी किसानलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता रहेको छ ।

महासचिव पोखरेलले आयातीत तरकारी, फलफूलमा विषादी परीक्षण रोक्ने र रासायनिक मलको मूल्यबृद्धिले कृषि क्षेत्रलाई कमजोर बनाउने काम गर्ने वताउनुभयो । ‘हामी सरकारमा छँदा रासायनिक मल आयातमा अनुदान बृद्धि गरेका थियौं । रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया शुरु गरेका थियौं,’ उहाँले भन्नुभयो । महासचिव पोखरेलले रासायनिक मल कारखाना स्थापनाका लागि अहिले विद्युत उत्पादन भइरहेकाले सरकारलाई कारखाना स्थापनाको प्रक्रिया अगाडि बढाउन आग्रह पनि गर्नुभयो ।

कृषि क्षेत्रको समग्र विकास गर्न सकेनौं भने समृद्ध नेपाल बनाउने राष्ट्रिय आकाङ्क्षा पनि पूरा गर्न नसकिने धारणा महासचिव पोखरेलले राख्नुभयो । उहाँले किसानलाई कम्पोष्ट र प्राङ्गारिक मल प्रयोगमा प्रोत्साहन गर्नुपर्ने र त्यसका लागि सरकारको वर्तमान नीति सच्याउनुपर्ने जरूरी छ भन्नुभयो ।

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको समयमा नेपालमा किसानले मूल्यबृद्धिको मारमा पर्नुपर्ने कुरा अनुचित भएको भन्दै पार्टीका केन्द्रीय सदस्य, कृषि तथा पशुपंछि विकास विभागका प्रमुख गिरधारीलाल न्यौपानेले सरकारले गरेको अनुदान कटौतीको निर्णय तत्काल सच्याउन माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *