क्षयरोगबाट नेपालमा करिब १७ हजारको मृत्यु, हरेक वर्ष थपिने नयाँ क्षयरोगीकाे संख्या ६९ हजार
काठमाडौं, १० चैत । आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विश्व क्षयरोग दिवस पारेर भक्तपुरस्थित विशेष समारोह आयोजना गरेको छ । कार्यक्रम राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहान १०ः४५ बजे सुरूहुने जनाइएकाे छ ।
सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जिवाणु पत्ता लगाएका थिए । त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिएको हाे ।
विश्व स्वास्थ्य संगठनले यस वर्षको दिवसको मुख्य नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं !’ तय गरेको छ । नेपालमा पनि साेही नारा अनुरूप सप्ताहव्यापी विश्व क्षयरोग दिवस मनाउँदै आइरहेकाे छ ।
विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी करिब १ करोड ६ लाख मानिसहरु क्षयरोगबाट पीडित भएका थिए ।
क्षयरोग नियमित उपचारले निको हुने भए पनि सन् २०२१ मा संसारभर क्षयरोगका कारण करिब १६ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको अनुमान छ ।
नेपालमा पनि हरेक वर्ष नयाँ तथा पुराना गरी करिब १ लाख १७ हजार क्षयरोगका बिरामी हुने गरेको केन्द्रले जनाएको छ ।
नेपालमा हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामीहरु थपिने र करिब १७ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएकाे छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार ८६१ जना क्षयरोगका बिरामीहरु उपचारमा दर्ता भएका थिए जसमध्ये ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिदला र करिब ८.७ प्रतिशत बालबालिका रहेका थिए । ९१.५ प्रतिशत बिरामीको उपचार भने सफल भई निको भएको तथ्यांक केन्द्र संग छ ।
दुई हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लागिराख्नु, साँझपख ज्वरो आउनु, तौल घट्नु, खकारमा कहिलेकाहिँ रगत देखा पर्नु र खाना खान मन नलाग्नु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । क्षयरोगको औषधि स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।