बादी समुदाय भन्दछन् : व्यवस्था बदलिए, अवस्था बदलिएन
कञ्चनपुर, १६ चैत्र । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउँथे । हाल उनको दिनचर्या फेरिएको छ । पहिला जस्तो उनले नाचगान गर्दैनन् । परिवारको खर्च धान्न उनले कृषि मजदुरी गर्दै आएका छन् ।
“विवाह, ब्रतबन्ध, न्वारनलगायतमा बादी समुदायका नृत्यकलाई बोलाइने गरिन्थ्यो उनले भने, “खुबै नाच्थ्यौँ, मादलको तालमा नाच्ने बादी नृत्यक मात्रै हुन्थे, हाल समय फेरियो, विवाहमा बेहुलासँगै उनका आमाबुवासम्म बैण्डबाजाको तालमा नाच्छन् ।”
बादी समुदायलाई बोलाउनै छाडिएपछि परम्परात पेसा ओझेलमा परेको उनले बताए । बादी समुदायले मादल, सारङ्गी, तबला, हारमोनियम बजाउने काम पुर्खौंदेखि गर्दै आएका हुन् । हाल परम्परागत बाजा बनाउने काम युवापुस्ताले विर्सँदै गएका छन् ।
परम्परागत बाजा बनाउने सीपलाई आधुनिक बनाइनुपर्ने काले बादी बताउँछन्। “हाल पेसा व्यवसायसँगै जग्गा जमिन नहुँदा दुई छाक खाना जुटाउनै मुश्किल छ”, उनले भने, “बाजा बजाउने सीपलाई आधुनिक बनाई व्यावसायिक बनाइनुपर्छ ।”
बादी समुदायका युवा परम्परागत पेसाबाट जीविका नचलेपछि घरमै ताल लगाएर परिवारसहित भारतमा मजदुरी गर्न जाने गरेका छन् । बादी समुदायको पुख्र्यौंली पेसाका रुपमा नाचगान गर्ने, माछा मार्ने, माटोका घैँटा, सुल्पा, चिलिम बनाएर गाउँगाउँमा अन्नसँग साटेर जीविका चलाउने गरेका थिए ।
हाल माटोबाट बनेका सामानको विकल्पका रुपमा अरु सामान सहजरुपमा पाउन थालिएपछि बादी समुदायले बनाउने समानको महत्व घट्दै गएको छ ।“बादी समुदायले आफैँ गीतको रचना गरी मादलसँगै सारङ्गी रेटेर गीत गाउने चलन पुरानै हो”, दुरा कुमालले भने, “यस पेसालाई व्यावसायिक बनाउनुपर्दथ्यो, बादी समुदायलाई प्रोत्साहित गरिनुपर्दथ्यो, व्यवस्था बदलिए पनि हाम्रो अवस्था बदलिएको छैन ।”
“चुनावका बेलामात्रै राजनीतिक दलका नेताहरुले बस्तीमा पुगेर सबै थोक पूरा गर्ने वचनबद्धता गर्दछन्, चुनाव जितेपछि कोही पनि बस्तीमा फर्कंदैनन् युवालाई भारततर्फ पलायन हुनबाट रोक्नका लागि स्थानीय तहले आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्दथ्यो, त्यो पनि हुन सकेको छैन”, उनले भने ।
पुस्तौँदेखि गर्दै आएको कार्य भने गीत सङ्गीतको हो, त्यसलाई जीवन्त राखिनुपर्ने उनको भनाइ छ । बस्तीकै मना बादी पाठेघरको समस्याले दुई महिनादेखि थला पर्नुभएको छ । उपचार गर्ने पैसा नहुँदा पीडा सहेर बस्नुपरेको उनले सुनाए ।
“हकअधिकारका लागि काठमाडौँसम्म आन्दोलन गर्यौँ, बादी समुदायको समस्या समाधानका लागि पटकपटक आयोग गठन हुँदै आए पनि हामीले अहिलेसम्म केही पाएनौँ”, दुराले भने, “बस्दै आएको फाँटामा पहिला बादी परिवार मात्रै बसेका थियौँ, जग्गाकै लागि बस्तीका १२ जना जेल बस्यौँ, अरुले जग्गा कब्जा गरेपछि नौधुर जग्गामा सीमित भएर बस्नुपरेको छ ।” बालबालिकालाई विद्यालय पढाउन सकिने अवस्था नरहेको उन बताए ।
” जनता आवास कार्यक्रम अन्र्तगत बादी बस्तीमा २२ घर बनेका छन । निर्माण गरिएका घरको छानामा राखिएका जस्तापाता हावाहुरीले पटकपटक उडाउँदा बादी समुदायले हैरानी खेप्दै आएका छन ।
अझै बस्तीका ५० परिवार झुपडीमै बस्दै आएका छन । बादी परिवार कमाई खाने जग्गा, पुख्र्यौंली गीत सङ्गीतको पेसा जगेर्ना र युवालाई सीपमूलक रोजगारीमा संलग्न गराउन माग गरिरहेका छन् । नगर प्रमुख हेमराज ओझाले बादी समुदायका युवालाई व्यावसायिक सीप सिकाएर स्वरोजगार बनाउन प्रतिबद्ध भएको बताए