इन्द्रचोकमा रथको ठोकाइबाट मन्दिर बचाउन आकाश भैरवको आफ्नै गुठी

काठमाडौं, १६ चैत । सेतो मत्स्येन्द्रनाथको रथ आज असनबाट तानेर हनुमानढोका पुर्याइँदैछ । हिजो जमल तीनधारादेखि तानेर ल्याइएको रथलाई असन पुर्याएर एक रात त्यहीं राखिएको थियो ।

असनबाट हनुमानढोका पुग्ने काठमाडौंको बाटो अत्यन्तै साँघुरो छ । अझ यसलाई बाटोभन्दा पनि गल्ली भन्दा उपयुक्त होला । यो साँघुरो गल्लीबाट सेतो मत्स्येन्द्रनाथको ३२ हात अग्लो रथ तान्दै अगाडि बढाउनु सजिलो छैन । यो गल्लीबाट रथ तान्दै गर्दा कहिलेकाहीं रथले सर्वसाधारण मानिसको घरलाई ठक्कर दिई क्षति पनि पुर्याउने गर्दछ ।

असनबाट हनुमानढोका जाने बाटोको बीचमा इन्द्रचोक आउँछ । इन्द्रचोकमा आकाश भैरवको मन्दिर रहेको छ । रथ तान्दा आकाश भैरवको मन्दिरलाई पनि ठोकेर क्षति पुर्याउने सम्भावना उतिकै छ ।

अझ वि.सं. १९९० सालको भूकम्प अघिसम्म इन्द्रचोक अहिलेजस्तो फराकिलो थिएन । इन्द्रचोकबाट न्यूरोड पुग्ने बाटो त्योबेला बनेकै थिएन । त्यहाँ सर्वसाधारणको घर, सत्तल र एउटा डबली थियो । ९० सालको भूकम्पपछि नयाँ सडक बनाउँदा इन्द्रचोकको त्यो डबली मासेर न्यूरोड पुग्ने बाटो खोलिएको थियो ।

त्यसैले असनदेखि तानेर ल्याइने मत्स्येन्द्रनाथको ठूलो रथ बाटोको छेवैमा रहेको आकाश भैरवको मन्दिरमा ठोक्किने सम्भावना धेरै थियो ।

रथले ठोकेर हुन सक्ने यो खतरालाई ध्यानमा राखी इन्द्रचोकको आकाश भैरवनाथ गुठीले एउटा विशेष व्यवस्था गरेको रहेछ । त्यो व्यवस्था हो– आकाश भैरवको मन्दिर नजिक रथ पुगेपछि त्यसलाई अगाडिबाट रोक्दै–ठेल्दै मन्दिरलाई नछुने गरी बाटो कटाइदिने समूहको गठन ।

त्यो समूहलाई ‘घःमाः ह्वायेगु गुठी’ भन्ने नाम दिइएको छ । यो गुठी मूलतः आकाश भैरवनाथ गुठी भित्रैको एउटा उपगुठी हो । सेतो मत्स्येन्द्रनाथको रथ असनबाट तानेर हनुमानढोका पुर्याइने एक दिन मात्रै यो गुठीको काम हुन्छ ।

उक्त दिन गुठीका गुठियारहरू बिहानै आकाश भैरवको पूजा गरी टिका लगाउने गर्छन् । दिउँसो समयबाजि खाएर तयार भई बस्छन् । साँझ रथ तानेर ल्याएपछि मन्दिर बाहिर सतर्क अवस्थामा उभिन्छन् ।

पहिले पहिले त यो गुठीका सदस्यहरुले मन्दिरमा हानेर कुनै क्षति नहोस् भनी रथको घःमाः समाएर रथलाई नै घुमाउन सहयोग गर्दथ्यो । अहिले रथले मन्दिरमा हान्ने सम्भावना अत्यन्त न्यून मात्रै छ । तर पनि ‘घःमाः ह्वायेगु गुठी’ का सदस्यहरू भने सतर्क अवस्थामा बसेकै हुन्छन् ।

मत्स्येन्द्रनाथको रथ तान्दै इन्द्रचोक कटेर मखन टोलतिर पुगेपछि मात्रै गुठीका सदस्यहरू त्यहाँबाट हट्ने गर्छन् ।

जात्राका बेला आफ्नो सांस्कृतिक सम्पदाहरूमाथि कुनै क्षति नहोस् भनी गुठी नै बनाएर सुरक्षा व्यवस्था गर्ने यो चलन पनि काठमाडौंको मौलिक परम्परा हो ।