लमजुङमा पहिरोले घर पुरिँदा बुबा-छोरीको मृत्यु : परिवारका दुई सदस्य घाइते

काठमाडौँ, साउन १२ । लमजुङको मध्यनेपाल नगरपालिका ७ भाटवेशीमा आज बिहान गएको पहिरोमा परी एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार अविरल वर्षासँगै घरमाथि रहेको नगरकुलो भत्किएर पहिरो खसेको थियो । पहिरोले विक परिवार बसोबास गर्दै आएको धन्सारसहितको दुईतले कच्ची घर पूर्ण रूपमा भत्काएको छ । विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बस्दै आएका थिए ।

घटनामा टिकबहादुरकी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएका छन् । उनीहरूलाई स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

नगरकुलो फुटेका कारण अचानक आएको पहिरोले घर पुरेकाले मानवीय क्षति हुन पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ र थप विवरण आउन बाँकी छ ।