यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा अवस्थित छ ।

आज दिउँसो देशभरिको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लागे पनि अन्य प्रदेशका पहाडी तथा तराई भू-भागमा भने पूर्ण बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

पहाडी भू-भागका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा बादल लाग्नेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम रहने हुनाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।