सुनसरीकाे देवानगञ्जमा जारी कर्फ्यु आदेश हटाइयो : जनजीवन सामान्य बन्दै
सुनसरी, १२ साउन । सुनसरी जिल्लाको विभिन्न क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश आजदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गर्दै स्थिति बिस्तारै सहज बन्दै गएपछि कर्फ्यु आदेश फिर्ता लिइएको जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचना अनुसार साउन ११ गते राति ९:०० बजेदेखि लगाइएको कर्फ्यु आज (मङ्गलबार) बिहान १२:१५ बजेदेखि लागू हुने गरी हटाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन तथा सभा गर्न लगाइएको प्रतिबन्ध अब हटेको छ ।
यसअघि केन्द्रीय सुरक्षा समितिको निर्णय र सिफारिसका आधारमा प्रशासनले इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा राजमार्गको उत्तर–दक्षिण २०० मिटरको दूरीमा कर्फ्यु जारी गरेको थियो ।
देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा दुई समुदायबीच आइतबार राति भएको झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । सो क्रममा ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि जिल्लामा तनाव उत्पन्न भएको थियो ।
कर्फ्यु हटेसँगै सुनसरीको जनजीवन सामान्यतर्फ फर्कन थालेको छ । यद्यपि, साम्प्रदायिक सद्भाव कायम राख्न र थप अप्रिय घटना हुन नदिन सुरक्षा निकायले उच्च सतर्कता भने अपनाइरहेको छ ।