सुनिता डंगोलको संयोजकत्वमा न्यायिक समिति राष्ट्रिय मञ्च

काठमाडौं, १६ चैत । ऐतिहासिक प्रथम न्यायिक सम्मेलनले न्यायिक समितिको काम कारबाहीलाई व्यवस्थित, प्रभावकारी र गुणात्मक बनाउन न्यायिक समिति राष्ट्रिय मञ्च (तदर्थ) गठन गरेको छ । चैत १५ र १६ गतेसम्म दुई दिन चलेको सम्मेलनले काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल संयोजक रहेको न्यायिक समिति राष्ट्रिय मञ्च गठन गरेको हो ।

सम्मेलनले न्यायिक समितिका पदाधिकारीहरुबिच निरन्तर सम्पर्क, समन्वय र सञ्चार गर्न राष्ट्रिय मञ्च, प्रदेश मञ्च र जिल्ला मञ्च गठन गर्ने पनि निर्णय गरेको छ । सम्मेलनका सहभागीहरु मध्येबाट गठन गरिएका विभिन्न चार वटा समितिहरुले आफु मध्येबाट छनौट गरेका ५–५ जनाका दरले जम्मा २० जना सदस्य रहेको समिति गठन गर्ने र सो समितिले १ महिना भित्र विभिन्न पदाधिकारी सहितको २१ सदस्यीय न्यायिक समिति राष्टिय मञ्च (तदर्थ समिति) गठन गर्ने पनि निर्णय भएको छ ।

त्यसैगरी सम्मेलनले न्यायिक समिति प्रदेश मञ्च गठन गर्ने पनि निर्णय गरेको छ । मञ्चमा प्रत्येक प्रदेशमा हुने न्यायिक समितिको भेलाबाट एक जना अध्यक्ष, एक जना सचिव, एक जना कोषाध्यक्ष र आठ जना सदस्यको चयन हुनेछ । प्रत्येक जिल्लामा हुने न्यायिक समितिको भेलाबाट चुनिएको न्यायिक समिति जिल्ला मञ्चको अध्यक्ष मञ्चको पदेन उपाध्यक्ष हुनेछ ।

त्यसैगरी न्यायिक समिति जिल्ला मञ्च गठन गर्ने पनि निर्णय भएको छ । प्रत्येक जिल्लामा हुने न्यायिक समितिको भेलाबाट एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, एक जना सचिव, एक जना कोषाध्यक्ष र पदाधिकारीमा प्रतिनिधित्व नभएका जिल्लाभित्रका अन्य सबै स्थानीय तहका न्यायिक समितिको संयोजक वा सदस्य एक एक जना न्यायिक समिति प्रदेश मञ्चमा मञ्चमा सदस्य रहने छन् ।

उल्लेखित समितिबाट गठन भएको न्यायिक समिति राष्ट्रिय मञ्च (तदर्थ)ले तयार गरेको बिधानलाई न्यायिक समिति राष्ट्रिय मञ्चबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी विधानमा उल्लेख भएबमोजिका न्यायिक समितिको प्रदेश तथा जिल्ला भेलाको आयोजना गरी मञ्चहरुको गठन गर्ने पनि निर्णय भएको छ ।