सुनको मूल्य अकासिँदा गहना व्यवसाय चौपट

काठमाडौं, १८ चैत । दिनानुदिन बढ्दै गइरहेको सुनको मूल्यका कारण काठमाडौं उपत्यकामा सुनचाँदीका गहना बनाउने व्यवसायीहरू प्रभावित भएका छन् ।

दिनदिनै जसो बढिरहेको मूल्यका कारण अहिले उपभोक्ताहरू सुन किनेर नयाँ गहना बनाउन सक्ने अवस्थामा छैनन् । गहना बनाउनेहरू कोही नआएका कारण अहिले गहना बनाउने व्यवसाय नै चौपट हुने अवस्थामा पुगेको व्यवसायीहरू बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष एवं बजार विश्लेषक तेजरत्न शाक्यका अनुसार अहिले उपत्यकाका सबैजसो सुन पसल (ज्यासः पसः) हरूमा व्यवसायी शून्य जस्तै छ ।

‘विशाल बजारका तयारी गहना बेच्ने केही पसलहरूमा मान्छे भेटिए पनि अन्यतिर भने व्यापार पूर्ण रुपले मन्दीमा छ’ उहाँले बताउनुभयो ।

नेपाली सुनचाँदी बजारमा अस्तिसम्म प्रति तोला १ लाख ८ हजार २०० रहेको सुनको मूल्य हिजो एकचोटी प्रति तोला १ हजार बढेर प्रति तोला १ लाख ९ हजार २०० पुगेको छ ।

बजार विश्लेषक शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारको ‘ट्रेण्ड’ हेर्ने हो भने यो भाउ अझै बढ्न सक्ने देखिन्छ । अमेरिकामा ठूला बैंकहरू समेत धमाधम धरासायी हुँदै गएपछि मानिसहरूले पैसा झिक्दै सुनमा लगानी गर्न थालेका विश्वव्यापी रुपमै सुनको भाउ बढ्न थालेको हो ।

‘यो क्रम अझै केही समय थामिएला जस्तो लाग्दैन,’ उहाँले भन्नुभयो, ‘सुनको भाउले अझै नयाँ कीर्तिमान कायम गर्ला जस्तो छ ।’

यसरी भाउ बढ्न थालेका कारण उपभोक्ताहरू सुन किन्न सक्ने अवस्थामा छैनन् । सुन किन्नेहरू नभएका कारण गहना बनाउने व्यवसायमा पनि मन्दी छाएको छ ।

शाक्यका अनुसार अहिले पुरानै गहना बिगारी नयाँ बनाउने बाहेक नयाँ बनाउनेहरू आएका छैनन् । यसले गर्दा गरगहना बनाउने व्यवसाय चौपट छ ।

पहिले राष्ट्र बैंकले कोटामा ल्याउने सुन हात पार्न व्यवसायीहरू बीच मारामार चल्ने गथ्र्यो । राष्ट्र बैंकले कोटा बढाउनु पर्यो भन्ने माग हुने गर्दथ्यो । तर अहिले त्यसरी कोटामा ल्याएको सुन पनि बैंकमै थन्केर रहेको उहाँले बताउनुभयो ।

त्यसमाथि अहिले बिहेको सिजन पनि नभएको कारणले गहना बनाउने पसलहरू बिहान खोलेर साँझ बन्द गर्ने बाहेक अर्को कामै नभएको व्यवसायीहरू बताउँछन् ।