मिसन ग्रासरुट नयाँ पुस्तालाई पार्टीमा जोड्ने अभियान होः महासचिव पोखरेल

काठमाडौं, २० चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मिसन ग्रासरुटका क्रममा नयाँ पुस्ताका युवालाई पार्टीमा जोड्ने कामलाई प्राथमिकतामा राख्नुपर्ने वताउनुभएको छ । राजधानीमा आयोजित मिसन ग्रासरुट अभियान कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले गत निर्वाचनमा राजधानी काठमाडौंको परिणाम खस्केको र त्यसको असर अन्यत्र पनि परेको भन्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले पार्टीलाई नयाँ पुस्तामा लैजाने काममा कमी रहेको भन्दै राष्ट्रिय राजनीति र राजधानीको राजनीतिको असर सबैतिर पर्ने कुरालाई ध्यानमा राखी काठमाडौंका सबै तहका पार्टी कमिटीहरू पार्टी सुदृढ बनाउन निरन्तर क्रियाशील हुनुपर्ने वताउनुभएको छ ।

महासचिव पोखरेलले विकास, निर्माण लगायत क्षेत्रमा राज्यले सबैभन्दा धेरै लगानी गरेकै ठाउँमा नयाँ पार्टीको प्रभाव बढी देखिएको वताउँदै जनताको चाहना र मनोभावना बुझेर काम गर्न र जनतासँगको सम्बन्धलाई जीवन्त राख्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । ‘पहिले पहिले पार्टीमा पाको उमेरका मानिस देख्दा खुशी लाग्थ्यो, अहिले पार्टीमा युवा देखिँदा खुशी हुनुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘नयाँ पुस्तासँग पार्टीको सम्बन्ध टुट्दै गएको देखिन्छ, यो कमीलाई सुधार गर्नुपर्छ ।’

महासचिव पोखरेलले हरेक पाँचबर्षमा आउने आम निर्वाचनमा ३० लाख मतदाता थपिने गरेको विश्लेषण सुनाउँदै नयाँ पुस्तालाई पार्टीमा जोड्ने कामलाई महत्वका साथ अगाडि बढाउन निर्देशन दिनुभयो ।

विगतमा नेकपा (एमाले) ले निर्वाचन जितेका स्थानीय तहमा पछिल्लो निर्वाचनमा भोट बढ्नुको सट्टा घटेको तथ्याङ्क प्रस्तुत गर्दै महासचिव पोखरेलले यस्तो किन भइरहेको छ भन्ने विषयमा पनि समीक्षा गर्न निर्देशन दिनुभयो ।

पार्टी र निर्वाचन जित्नुभएका जनप्रतिनिधिबीचको सम्बन्ध जीवन्त हुनुपर्ने वताउँदै उहाँले भन्नुभयो,’ ‘पार्टीमा आन्तरिक समस्या छन् भने मिसन ग्रासरुटका क्रममा तिनको पनि समाधान गर्नुपर्छ ।’

नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन र अस्थिरता कायम गर्न बाह्य शक्तिले एकल जातीय पहिचान, धार्मिक अतिवाद जस्ता एकपछि अर्को विभिन्न प्रयोगहरू ल्याइरहेको चर्चा गर्दै महासचिव पोखरेलले सङ्घीयतासहितको संविधान निर्माण गर्दा नेकपा (एमाले) ले वैचारिक सङ्घर्षबाट एकल जातीय पहिचानको मुद्दालाई असफल पारिदिएकाले अहिले नेपाली समाज सामाजिक द्वन्द्वमा जानबाट बचेको विचार व्यक्त गर्नुभयो ।

महासचिव पोखरेलले शनिबार नै धादिङको नेत्रवती डवजोङ गाउँपालिका कमिटीद्वारा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पनि सम्बोधन गर्नुभएको थियो ।