बालकोट आउँछु भनेर हराएका प्रचण्ड संसद भवनमा पनि भेटिएनन्, सांसदले पढे प्रधानमन्त्री हराएको सूचना
काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै प्रस्तावमा आज ९ बजे प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री, सभामुख र कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुको बैठक बस्ने तय भएको थियो । सोही अनुसार एमालेका नेताहरु तयारी अवस्थामा थिए । बैठकका लागि भनेर सभामुख देवराज घिमिरे पनि समयमै बालकोट पुग्नु भएको थियो ।
तर, ९ः२० बजेतिर प्रधानमन्त्रीले प्रचण्डले टेलिफोन सम्पर्क गर्दै बैठक बस्न नसक्ने भन्नुभयो । प्रधानन्त्री प्रचण्ड र काङ्ग्रेस सभापति नै बैठकमा उपस्थित नभएको विषयप्रति सांसद एवं एमाले सचेतक महेश बर्तौलाले उहाँहरु राष्ट्रिय समस्या समाधानका लागि सचेत नभएको आरोप लगाउनुभयो ।
‘संसदमा बिचाराधिन यतिधेरै महत्त्वपूर्ण बिधेयक, संयुक्त समिति निर्माण लगायत विषयमा शीर्ष नेताहरूबीच छलफल भएर अघि बढ्नुपर्ने अवस्था छ,’ बर्तौलाले भन्नुभयो, ‘प्रतिपक्षी दल छलफल तथा सम्वादका लागि सदैव तयार छ । तर, सरकारको नेतृत्व भने आफैंले बैठक बोलाएर आफैं बैठक प्रति उदासीन हुनु र छलफल संवादलाई प्राथमिकता नदिनु दुःखद् विषय हो।’
बालकोटको छलफलमा सहभागी नहुनुभएका प्रधानमन्त्री संसद बैठकमा पनि अनुपस्थित रहनुभयो । उहाँ बैठकमा समेत अनुपस्थित भएपछि नेकपा (एमाले) का सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना नै सुनाउनुयभो । शुन्य समयमा पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना पढ्नु भएको थियो । उहाँले सुनाएको सूचना–
‘नागरिकताको नामः श्री पुष्पकमल दाहाल
चलन चल्तीको नामः प्रचण्ड
स्थायी ठेगानाः फेरिराख्ने
अस्थायी ठेगानाः कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलियाः पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’