कञ्चनपुर पनि सीमानाकाका कारण औलोको जोखिममा

कञ्चनपुर, १३ वैशाख । कञ्चनपुर पनि औलोको उच्च जोखिममा रहेको छ । भारतसँग जोडिएको खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेकाे हाे ।

भारतमा औलोको सङ्क्रमण भएर आउने बिरामीको सङ्ख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि औलोको जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले कञ्चनपुरमा स्थानीय सङ्क्रमणभन्दा आयातीत औलो सङ्क्रमित बिरामी बढिरहेको बताउनुभयो ।

“यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइभन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ”, उहाँले भन्नुभयो, “पछिल्लो केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ ।” उहाँले सन् २०२५ सम्ममा औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा १६ जना औलो सङ्क्रमित थिए भने ३१ जना भारतबाट सङ्क्रमण भएर आएका थिए । चालु आवको हालसम्ममा सङ्क्रमित पाँचजना छन् भने भारतबाट सङ्क्रमित भएर आएका १७ औलो सङ्क्रमित छन् ।

भारतसँगको खुला सिमानाका कारण आयातीत औलो सङ्क्रमण बढिरहेको छ । स्वास्थ्य कार्यालयले औलो रोग निवारणका लागि औलोको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने र झूल वितरण गर्ने अभियान सञ्चालन गरेको जिल्ला औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले औलोबाट बच्नका लागि झूलको प्रयोग गर्ने र शरीर ढाक्ने कपडा लगाउनुपर्नेमा जोड दिनुभयो ।