अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि चार ओटा माग गर्दै महावीर पुनको नेतृत्वमा धर्ना सुरु (मागसहित)
काठमाडौं, १५ वैशाख । संघीय सरकार र प्रदेश सरकारसँग अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई उच्च प्राथमिकतामा राख्न माग गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वले माइतीघरमा धर्ना सुरू भएको छ ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न रहेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विसका वजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र त्यसलाई ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’मा राख्नुपर्ने पहिलो माग राखिएको छ । कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने, सो रकम त्यहि वर्ष खर्च नभए आगामी वर्षहरुमा पनि खर्च गर्न पाउनुपर्ने जस्ता माग पनि राखिएको छ ।
त्यसैगरी सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनताम सोँच भएका नेपालीहरुलाई उपलब्ध गराउन संसदले नेपाल सरकारले सार्वजनिक खरिद ऐन भन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवद्र्धन सञ्चालन तथा खरिद ऐन’ बनाउन र आवश्यक अनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने नीति बनाउनु पर्ने पनि माग गरिएको छ ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजहरुलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीलाई उद्यम सुरु गर्नका लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने, स्वदेशी उत्पादनलाई बजारिकरण गर्न ठोस सहयोग गर्ने नीति बनाउनु पर्ने पनि माग गरिएको छ ।
त्यस्तै कामलाई सहज बनाउन र आवश्यकता अनुसारको नीति बनाउनका लागि ‘नव उद्यमी प्रवद्र्धन समिति’ बनाउन र समितिले आवश्यक कदम चाल्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।
नीति अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरुमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रत्साहन गर्न र प्रवद्र्धन गर्नका लागि विज्ञान मन्त्रालय अन्र्तरगत ‘व्यवहारिक अनुसन्धान र नवप्रर्वतन विभाग’ खोल्नुपर्ने जस्ता माग पनि राखिएको छ । विभागलाई देशका प्रतिभाहरुलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरुलाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याउन र उनीहरुबाट फाइदा लिनका लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिन पनि माग गरिएको छ ।
पहिलो दिनको कार्यक्रमलाई सम्वोध गर्दै पुनले अर्थतन्त्रको विऊ भनेकै आविष्कार भएको भन्दै विऊ रोप्ने काममा लाग्न सरकारलाई आग्रह गर्नुभयो । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनको नेतृत्वले ४ बुँदे मागसहित माइतीघरमा शुक्रबार धर्ना सुरु गरेका हुन् ।
धर्नामा सहभागिहरूले उद्यमीहरुलाई हतोत्साह नगरु, ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता विज्ञान प्रविधि तथा नवप्रवर्तक ऐन पारित गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
आफ्ना मागबारे पुनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत र शिक्षामन्त्री अशोक राईलाई ४ बुँदे मागहरू बुझाउनु भएको थियो ।