बाढी प्रभावित क्षेत्रमा आज पुनः वर्षाको सम्भावना : टनेलमा पानी भरिएपछि उद्धार कार्यमा चुनौती
काठमाडौँ, १७ भदौ । विनाशकारी बाढीबाट थिलथिलो बनेको भोटेकोशी जलाधार क्षेत्रमा आज अपराह्नपछि पुनः वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रसुवा, नुवाकोट र धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा आज दिउँसो मध्यम वर्षाको पूर्वानुमान गरिएको छ ।
मौसमविद् रोजन लामिछानेले प्रभावित क्षेत्रमा आगामी तीन दिनसम्म वर्षाको क्रम जारी रहने जानकारी दिनुभयो । विभागका अनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको नोस्यामपाटीमा सबैभन्दा धेरै ६०.२ मिलीमिटर वर्षा मापन भएको छ । आज दिउँसो र राति देशभर सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
लगातारको वर्षाका कारण भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य झन् जटिल बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले वर्षाका कारण जलविद्युत् आयोजनाका टनेलमा पानी भरिँदा समस्या उत्पन्न भएको बताउनुभयो ।
“रातभर परेको वर्षाले टनेलभित्र पानीको सतह बढेर पानी तान्ने पम्पसमेत डुबेको छ,” डा. उप्रेतीले भन्नुभयो, “अहिले सुरक्षाकर्मीहरूले डुबेको पम्प निकालेर पुनः पानी तान्ने प्रयास गरिरहेका छन् ।” टनेल (सुरुङ) भित्र फसेकाहरूको खोजीका लागि यो पानी निकाल्नु अनिवार्य भए पनि वर्षाले काममा बाधा पुर्याएको छ ।
प्राधिकरणले मौसम प्रतिकूल रहेकाले खोज र उद्धारमा खटिएका टोली तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाका कारण थप पहिरो जान सक्ने र नदीको बहाव फेरि बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायहरूलाई तयारी अवस्थामा राखिएको छ ।