सामान्य अंकले घट्यो नेप्से

काठमाडाैं, २७ वैशाख । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन नेप्से २.४३ अंक घटेर १८४१.९३ विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४५ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५ स्टकको १६ हजार १०० पटकको कारोबारमा ५८ करोड ९१ लाख रुपैयाँ बराबरको १९ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.२४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन कारोबारमा आएको एनसीसी बैंकको ऋणपत्रको मूल्य यस दिन सर्वाधिक ७.२४ प्रतिशत घटेको छ। त्यस्तै, मन्दाकिनी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ।