प्रधानमन्त्रीको भारत भ्रमणः विज्ञहरुका यस्ता छन् दर्जन बढी सुझाव (भिडियो रिर्पोट) 

काठमाडौं, १६ जेठ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक भारत भ्रमण गर्ने पूर्वसन्ध्यामा नेकपा (एमाले)ले परराष्ट्र मामिलाका जानकारहरुलाई बोलएर ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

नेकपा (एमाले)को सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रमा सहभागी विज्ञहरुले प्रबुद्ध समूह (ईपीजी) प्रतिवेदनको विषयलाई महत्वका साथ उठाउनु पर्नेमा जोड दिनुभयो । त्यसैगरी कालपानीको सीमा समस्याको समाधान खोज्ने, चुच्चे नक्शाको द्वन्द्व समाधान गर्ने, सीमा सुरक्षा, सीमावर्ती क्षेत्रको बाँध र त्यसले नेपाली भू–भागमा पार्ने समस्या, हवाई प्रवेश मार्ग, अन्तरदेशीय विद्यूत व्यापार, जलविद्यूत आयोजना निर्माण गर्दा नेपालको हकहित नमर्ने गरी गर्ने, व्यापारलगायतका विषयमा पनि खुलेर कुराकानी गर्न सुझाव दिएका छन् ।

छलफल कार्यक्रमलाई सम्वोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले छिमेकीका बिचमा असमझदारी होइन समझदारी कायम गर्ने गरी कुरा गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी उहाँले नेपाल–भारत सम्बन्धनलाई जीवन्त बनाउनेतर्फ केन्द्रित भएर छलफल गर्न सुझाव दिनुभयो । उहाँले इपीजी रिपोर्टलाई आधारपत्र मानेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विगतमा भएका असामन सन्धी सम्झौतालाई नयाँ शिराराबाट नविकरण गर्ने कुरालाई पनि जोड दिनुपर्ने बताउनुभयो । सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्रीले भारत भ्रमणका सन्र्दभमा सीमा विवादको समाधानलाई प्रमुख मुद्धा बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले लिपु लेक, लिम्पियाधुरा नेपालकै भू–भाग भएको भन्दै चुच्चे नक्शा नेपालले निकालिसकेको अवस्थामा त्यो विषयलाई उठाउनु पर्नेमा जोड दिनुभयो ।

यद्यपि त्यो विषयमा प्रधानमन्त्रीले भ्रमणको एजेण्डा नै नबनाएको र भारतीय प्रधानमन्त्री मोदीसँग नेपालको प्रधानमन्त्रीले सीमाको विषयमा कुरा राख्न सक्ने विश्वास नभएको भन्दै नेपाली जनताको सन्देश भनेर भए पनि अनौपचारिक भेटमा सुनाउन आग्रह गर्नुभयो ।

अर्काविज्ञ हिरण्यलाल श्रेष्ठले पनि प्रधानमन्त्री प्रचण्डले सीमा विवादलगायत विषयमा कुरा राख्नु पर्नेमा जोड दिनुभयो । उहाँले पानीको समस्यालाई त्रिपक्षीय सम्झौताबाट टुंगोमा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

भूतपूर्व प्रधानमन्त्री रहेका बेला समेत उहाँले भारतीय जनता पार्टीको कार्यालयमै गएर प्रचण्डले भेटेको स्मरण गराउँदै बृहद भारत क्षेत्र भनेर राखेको नक्शाका बारेमा पनि दरिलो गरी प्रश्न उठाउनुपर्नेमा जोड दिनुभयो । अहिले पनि भारत व्रिटिसको प्रभावबाट हट्न नसकेको समेत स्मरण गराउनुभयो । यो विषयमा भारतले समेत सोच्नुपर्ने उहाँको भनाई थियो । अर्का विज्ञ सूर्यनाथ उपाध्ययले यो भ्रमण बोलाएर भन्दा पनि बोलाउन लगाएर गएको आरोप लगाउनुभयो ।