सदन र सडकबाट एकैचोटि सरकारको गलत कदमविरुद्ध नेकपा (एमाले) को बिगुल (भिडियो रिपोर्ट)

काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले एकपछि अर्को गर्दै गरेका संविधानविरोधी र राष्ट्रघाती कदहरुको खवरदारीका लागि आज सदन र सडक दुबै ठाउँबाट एकैचोटी विरोधको विगुल फुकेको छ ।

शनिबार मात्रै भारतको औपचारिक भारत भ्रमण सम्पन्न गरेर फर्किनु भएका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले दिएको ‘भूमि साटफेर’ को अभिव्यक्ति अहिले विवादित बनिरहेको छ । प्रधानमन्त्री प्रचण्डले बंगलादेश मोडलमा गएर नेपालको लिपुलेकदेखि, कालापानी, लिम्पियाधुरा, गुञ्जी, कुटी, नाभीसम्मको भूभाग भारतलाई दिन सकिने र सट्टामा नेपालको पूर्वीनाकाबाट बंगलादेश जोड्ने बाटो लिन सकिने अभिव्यक्ति दिनुभएको थियो ।

उहाँको त्यो विषयलाई लिएर अहिले सबै भन्दा बढी विरोध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गरिरहेको छ । एमालेले भूमि साटफेर र नागरिकता विद्येयकको विषयमा संसदमा प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने भन्दै अवरोध गर्दै आएको थियो । आज प्रचण्डले सदनमा जवाफ दिदैँ आफूले त्यस्तो अभिव्यक्ति नदिएको भन्दै आफ्नो बचाउ गरे पनि राष्ट्रको भूभाग नै साटफेर गर्ने प्रचण्डको अभिव्यक्तिका विरुद्ध एमाले विश्वस्थ हुन सकेको छैन ।

सरकारले एकपछि अर्को गल्ती गर्दै जान थालेपछि आज एमालेले सदन र सडक दुबै ठाउँबाट विरोध गर्दै खवरदारी गरेको छ । आज दिउँसो माइतीघर मण्डलामा हजारौँको संख्यामा एमालेका नेता–कार्यकता भेला भएका थिए । अरुबेला हँसिया–हतौडा र सूर्यचिन्ह अंकित झण्डा बोक्ने नेता–कार्यकर्ताहरुको हातमा आज राष्ट्रिय झण्डा फहराइ रहेका थिए ।

जेठको प्रचण्ड गर्मीले गर्मिलो बनिरहेको मौसम त्यतिबेला नै सिमसिमे पानी परेपछि केही शीतल महशुस भएको थियो । हजारौंका संख्यामा उपस्थित कार्यकर्ताहरु एक हातमा मुर्रा राँगा–भैँसीमा देश साट्न पाइदैन, हाम्रो जमिन हाम्रो अधिकार लेखेको प्लेकार्ड र अर्को हातमा राष्ट्रिय झण्डा फहराउँदै नयाँबानेश्वरतर्फ अघि बढ्दै थिएँ । त्यसैबेला पानी परेपछि केहीबेर आन्दोलन नै छाता आन्दोलन जस्तो बनेको दृृष्य देखिएको थियो ।

केही दिन अघि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने केही घण्टा अघि मात्रै नागरिकता विद्येयकमा राष्ट्रपति रामचन्द्र पौडेलले हतारहतारमा प्रमाणीकरण गर्नुभएको थियो । त्यो मात्रै होइन एमाले सर्वोच्च अदालतले समेत दोषी ठहर गरेका रेशम चौधरीको आममाफीविरुद्ध रुष्ट बनेको छ । आजको आन्दोलनमा यी विषयलाई पनि बुलन्द आवाजसहित विरोध गरिएको थियो ।

आन्दोलनमा ठाँउ–ठाउँमा सेल्फी खिचिरहेका दृष्यहरु देखिन्थे भने केही ठाउँमा युवा, महिला र विद्यार्थीहरु गोलबन्द भएर एकै तालमा विरोधका नारालाई बुलन्द बनाएको दृष्यहरु पनि देखिन्थे । कार्यक्रमा युवा र महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।