भारतको महाकालेश्वरमा प्रचण्ड गेरुवस्त्र धारणमा, पशुपतिमा दौरा–सुरुवाल र कोटसहितको ठाँटबाँट
काठमाडौं, २८ जेठ । अघिल्लो हप्ता अघि भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेर गेरुवस्त्र धारणा गरी मन्दिरमा पूजा गर्नुभएको थियो ।
त्यहाँ पूजा गर्नुका साथै नेपालबाट लगिएको १०८ किलो रुद्राक्ष र ५१ हजार भारतीय रुपैयाँ चढाएपछि उहाँको आलोचना भएको थियो । मन्दिरमा पूजा गर्न गएको मात्रै होइन गेरुवस्त्र समेत लगाएको तस्बिर प्रचण्डको यस अघि सार्वजनिक भएको थिएन । त्यतिबेला पनि आफ्नो देशको पशुपतिनाथको मन्दिरमा नजाने प्रचण्ड भारतपुगेपछि गेरुवस्त्रमा धर्ममा लागेको भन्दै आलोचना भएको थियो ।
सायद त्यहि आलोचनालाई मत्थर पार्न होला परराष्ट्र मन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरण महत, पर्यटन मन्त्री सुदन किराँती लगायत लिएर शनिबार प्रचण्ड पशुपतिनाथको मन्दिर पुग्नुभयो । उहाँले त्यहाँ आरती पनि अवलोकन गर्नुभयो । भारतमा गेरुवस्त्रमा मन्दिर पुग्नु भएको प्रचण्ड पशुपतिमा भने दौरासुरुवाल र कोटमा ठाँटिएर टोपीसहित पुग्नु भएको थियो ।