नागरिक उड्डयन प्राधिकरणले सोध्यो मेयर बालेनलाई स्पष्टीकरण

काठमाडाैं, १ असार । काठमाडौं महानगरका मेयर बालेन शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ।

महानगरपालिकाकाे-९ नं वडामा पर्ने विमानस्थल क्षेत्रमा महानगरले बिना जानकारी फेन्सिङ तार काटेपछि स्पष्टीकरण सोधिएको हो।

प्राधिकरणले मेयर शाहलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ। बिहीबार नगर प्रहरी उपरीक्षक राजु पाण्डेले कुनै जानकारीबिना अन्य नगर प्रहरीलाई तार काट्न लगाएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका कर्मचारीले तार नकाट्दा अनुरोध गरेता पनि नगर प्रमुखको आदेशबमोजिम आफूहरूले सो कार्य गरेको उनीहरूले बताएका थिए।

‘तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो? यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८० / ०२ / ३२ को निर्णयानुसार जानकारी गराइन्छ।’ प्राधिकरणले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।