बाँके जिल्लाभर सात हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण

बाँके, ६ असार । बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ ।

लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् ।

जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले उहाँले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको जानकारी दिनुभयो ।

घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै डा ओलीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त भाइरसको सङ्क्रमण देखिएको उहाँको भनाइ थियो । राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ ।

नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुवस्तुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको बताउनुभयो । सङक्रमणका कारण दूधको उत्पादन घटनु तथा पशु सङ्क्रमणबाट मुक्त भए पनि पहिलेकै अवस्थामा नर्फकनुले किसान मारमा परेको उहाँले बताउनुभयो ।

सङ्क्रमण राेकथामका लागि पशुलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण हुन सक्ने डा न्यौपानेले सुझाव दिनुभयो ।

उहाँका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेर यसको सङ्क्रमण फैलन सक्छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजार हाराहारीमा गाई रहेका छन् ।

लुम्बिनी प्रदेशमा ७४ हजार दुई सय ८९ पशु लम्पी स्किन रोगबाट पशु सङ्क्रमित भएका छन् । अहिलेसम्म दुई हजार सात सय ८० पशुको मृत्यु भएको भने प्रदेशका पाँच हजार सात सय ५० पशुलाई भ्याक्सिनेसन गरिएको पशु अस्पताल बाँकेले जनाएको छ ।