एमालेले चाहने हाे भने हप्ता दिनभित्र सरकार ढल्छ : सचेतक बर्तौला
काठमाडाैं, ६ असार । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहने हाे भने हप्ता दिनभित्रमा सरकार ढाल्न सक्ने दावी गरेका छन्।
संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार सञ्चारकर्मीसँग बाेल्दै सचेतक बर्तौलाले एमालेले चाहने हाे भने हप्ता दिनभित्रमा सरकार ढाल्न सक्ने दावी गरेका हो।
उनले सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने दावी गरे।
‘नेकपा एमालेले आफ्नो सामर्थ्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ। नागरिकहरुको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्रहितलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ।
यो सरकार ढाल्न हामीले कुनै मेहनत गर्नुपर्दैन‚’ उनले भने‚ ‘नेकपा एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ। यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो।
यद्यपि आफूहरु सरकार ढाल्न नलाग्ने, बरु गठबन्धनभित्रकै असमझदारी र अविश्वासले ढल्ने उनले बताए । सत्तारुढ गठबन्धनमा भएकाहरुलाई आफूहरुको पद जतिखेर पनि धरापमा पर्छ भन्ने त्रास रहेको भन्दै एमाले सचेतक बर्तौलाले अघि भने, ‘यदि यसो हुँदैन थियो भने स्वयं यो सरकारको प्रधानमन्त्रीले सरकारभित्र बसेर अर्को मोर्चाबन्दी र अर्को गुट निर्माण गर्नुपर्ने कुनै जरुरी थियो ?’
उनले भने, उनीहरुको आयु, उनीहरुको पद जतिखेर पनि धरापमा छ। त्रासका कारणले अनेकौँ खालका गुट निर्माण गरेर हिँडिरहनुभएको छ। यसले देशलाई अन्योलतातर्फ, अस्थिरतातर्फ लानलाई मद्दत पुर्याउँछ। मोर्चाले राजनीतिक असमझदारी, राजनीतिक अन्यौल सिर्जना गर्न भूमिका निर्वाह गरेको छ।’