नमोबुद्धको घ्यांग भत्काइयो
बनेपा, ८ जेठ । उपत्यकाका बौद्धमार्गीहरूको प्रशिद्ध धार्मिकस्थल नमोबुद्धमा अनधिकृत रूपमा निर्माण गरिएको घ्याङ्ग (सानो मन्दिर) हिजो भत्काइएको छ ।
स्थानीय नमोबुद्ध नगरपालिका, श्री नमोबुद्ध भगवान घ्याङ्ग गुठी व्यवस्थापन समिति, गुठी संस्थान र पुरातत्व विभागको सहमति अनुसार हिजो डोजर चलाई उक्त घ्याङ्ग भत्काइएको हो ।
नमोबुद्धको ऐतिहासिक महत्व रहेको चैत्य छेकिने गरी केही वर्ष अघि उक्त मन्दिर निर्माण गरिएको थियो । पुरानो र ऐतिहासिक चैत्य नै छेकिने गरी मन्दिर निर्माण गरिएकोले पूजा गर्न आउने भक्तजनहरू मूल मूर्तिलाई छोडेर उही नयाँ मन्दिरमा राखिएका नयाँ मूर्ति एवं चैत्यको पूजा गरी फर्कने गर्दथे ।
निर्माणकालदेखि नै आलोचित हुँदै आएको उक्त मन्दिर हटाउन स्थानीय भक्तजनहरूले शुरुदेखि नै अनुरोध गर्दै आइरहेको थियो । हिजो नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्सान लामाको नेतृत्वमा उक्त मन्दिर भत्काउने कार्य गरिएको थियो ।
हिजो मन्दिर भत्काउने भएपछि अस्ति मन्दिर सामु क्षमा पूजा गरिएको थियो ।