पाल्पामा ३० प्रतिशत रोपाइँ सम्पन्न

पाल्पा, १५ असार । पाल्पामा हालसम्म करिब ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । असारको मध्य भागसम्म आइपुग्दा जिल्लाका केही स्थानमा मात्रै रोपाइँ सुरु भएको हाे ।

पाल्पामाद विगतका वर्षको तुलनामा यस वर्ष मनसुन ढिला सुरु भएकाले असार १५ सम्म धान रोप्ने कार्य कम भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । “समयमा नै वर्षा नहुँदा रोपाइँ कम क्षेत्रफलमा भएको छ, केही ठाउँमा रोपाइँ सुरु भए पनि आकाशे पानीकै भरमा अधिकांश जमिनमा रोपाइँ गरिने भएकाले पानी पर्याप्त परेपछि रोपाइँका चहलपहल बढ्छ”, उहाँले भन्नुभयो । पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोला नजिकका खेतमा रोपाइँ सुरु भएको छ ।

जिल्लामा असारको पहिलो हप्ताबाट रोपाइँ अगाडि बढेको छ । बाँझो जमिन, खोला र नहरका पानी लाग्ने जमिनमा धान रोप्ने काम भएको छ । मकैखेती भएका जमिन, आकाशकै पानीमा निर्भर जमिनमा असारको तेस्रो हप्तापछि धान रोपाइँ सुरु हुनेछ । हालसम्म पाल्पामा माडीफाँट, दोभान, अर्गली, रम्भा, पूर्वखोला, बगनासकाली लगायतका क्षेत्रमा रोपाइँ सुरु भएको छ ।

पाल्पामा करिब आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ गरिँदै आएको छ । जिल्लाको माडीफाँट, अर्गली, रामपुर, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभान लगायतका क्षेत्र धान उत्पादका मुख्य पकेट क्षेत्र हुन् । पछिल्लो समय गाउँ–गाउँमा कृषि यान्त्रिकरणको विकासले पनि रोपाइँ छिटोछरितो हुने गरेको छ ।

सावित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुली लगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषक उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । युवा जनशक्ति पलायन, सीमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकाशे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउबिजन तथा मलखाद एवं अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् ।