धनगढी पुग्नै लागेकाे श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्काइयाे

काठमाडाैं, १६ असाेज । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज धनगढी पुग्नैलाग्दा समस्या आएपछि काठमाडौं फर्किएको छ।

काठमाडौंबाट शनिबार दिउँसो साढे ३ बजे उडेको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको हाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार ७८ यात्रु बोकेर उडेको जहाज धनगढी पुग्नै लाग्दा काठमाडौं फर्काइएको हाे ।

उहाँले भन्नुभयाे, ‘जहाजको हाइड्रोलिकमा समस्या आएको थियो। धनगढी पुग्नै लाग्दा समस्या आएको थाहा पाएपछि फेरि फर्काइएको हो,’ । ‘यहाँ बनाउनका लागि उपकरणहरू पनि हुने भएकाले यतै ल्याइएको हो।’

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५:०५ मा अवतरण भएको उहाँले बताउनुभयाे । सिटौलाका अनुसार काठमाडाैंमा यात्रुका लागि अर्को जहाज तयारी अवस्थामा राखिएको थियो।