दिल्लीबाट बनेको प्रधानमन्त्री हुँ भनेर प्रचण्डले पदमा बस्ने नैतिक आधार गुमाएको एमाले संसदीय दलको निष्कर्ष

काठमाडौँ, २० असार । केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदर प्रीतम सिंहले पटकपटक भारत लगेको भन्दै दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रचण्डले प्रधानमन्त्री पदमा रहिरहने नैतिक आधार समाप्त गरेको निष्कर्ष निकालेको छ । आज एमाले संसदीय दलको बैठक बस्दै एमालेले यस्तो निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री प्रचण्डले प्रीतमको ८८ औं जन्मदिन मनाउने अवसरमा आयोजित कार्यक्रममा उहाँकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन गर्दै आफुलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर प्रीतम धेरै पटक दिल्ली पनि जानुभएको भन्दै विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । जम्मू–कश्मीरमा ८८ वर्ष अघि जन्मिनु भएका सरदार प्रीतम करीब ६५ वर्षदेखि नेपालमा बसोबास गर्दै आउनु भएको व्यक्ति हो ।

उहाँकै जन्मदिनमा देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो अभिव्यक्तिपछि प्रचण्डको सर्वत्र आलोचना हुँदै आएको छ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँगै रहेको मञ्चबाट प्रधानमन्त्री प्रचण्डले भारतप्रति अनुराग देखाउँदै यस्तो अभिव्यक्ति दिएपछि एमालेले आज संसदीय दलको बैठक नै राखेर संसदमा यो विषयमा कुरा उठाउने निर्णय गरेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

‘संसदीय दलको बैठक सम्पन्न भयो । संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले उहाँ प्रधानमन्त्रीकै पदमा रहिरहने नैतिक, संवैधानिक र राजनीतिक हैसियत आधार समाप्त गर्नुभएको छ भन्ने निष्कर्ष निकालेको छ,’ बर्तौलाले भन्नुभयो, ‘नेपालको संसदले प्रधानमन्त्री बनाएको हो र प्रचण्ड देशको प्रधानमन्त्री बन्नुभयो भन्ने हामीले ठानेका थियौँ । तर, उहाँको अभिव्यक्तिले ‘म प्रधानमन्त्री दिल्लीबाट बनेको हुँ’ भन्ने भाष्य स्थापित गर्ने काम भएको छ । त्यसले देशको स्वाभिमानमाथि अपमान भयो भन्ने हामीले ठहर गरेका छौँ ।’

उहाँले यो राष्ट्रिय लज्जाको अवस्था भएको ठहर पनि बैठकले गरेको जानकारी दिनुभयो । ‘हाम्रो सार्वभौमसत्तामाथिको चरम अनास्था भयो, यो संसदप्रतिको आक्रमण हो । जनदेशको धज्जी उडाउने काम भयो र उहाँले अपमान गर्नुभयो,’ बर्तौलाले भन्नुभयो, ‘त्यसैले अब उहाँ यो देशको सिङ्गो सार्वभौमसत्ता, स्वाभिमान, संसद, कानुन, संविधान सबैमाथि आक्रमण र अपमान गर्ने व्यक्ति देशको प्रधानमन्त्री पदमा बसिरहन सक्नुहुन्न ।’

उहाँले नैतिकरुपमा राजनीतिक आधार समाप्त गर्नुभएको ठहर पनि बैठकले गरेको छ । ‘संसदमा हामी ती कुरा दृढताका साथ राख्छौँ । बैठकमा त्यहि निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘उहाँ प्रधानमन्त्रीका रुपमा रहिरहने आधार छैन । यो कुरा देशले थाहा पाउनुपर्छ । देशलाई थाहा दिने काम हामी संसदमार्फत गर्छौ ।’