एमालेले गरेको संसद अबरुद्धबारे विश्वप्रकाश भन्नुहुन्छ– यो प्रतिपक्षको मूल कर्तव्य नै हो

काठमाडौँ, २० असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदर प्रीतम सिंहले पटकपटक भारत लगेको भन्दै दिएको विवादास्पद अभिव्यक्तिबारे मुख खोल्नु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत के बोल्दा कस्तो असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको भन्दै मुख खोल्नु भएको हो ।

‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो,’ उहाँले लेख्नुभएको छ, ‘मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्री कै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’

प्रधानमन्त्रीले गलत बोल्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको भएको शर्माको भनाई छ । ‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ सत्तारूढले नै प्रश्न गरेका छौँ प्रतिपक्षको त मूल कर्तव्य नै हो,’ उहाँले भन्नुभएको छ । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रचण्डले प्रधानमन्त्री पदमा रहिरहने नैतिक आधार समाप्त गरेको निष्कर्ष निकालिसकेको छ । एमाले संसदीय दलको बैठक बस्दै एमालेले यस्तो निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री प्रचण्डले प्रीतमको ८८ औं जन्मदिन मनाउने अवसरमा आयोजित कार्यक्रममा उहाँकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन गर्दै आफुलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर प्रीतम धेरै पटक दिल्ली पनि जानुभएको भन्दै विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । जम्मू–कश्मीरमा ८८ वर्ष अघि जन्मिनु भएका सरदार प्रीतम करीब ६५ वर्षदेखि नेपालमा बसोबास गर्दै आउनु भएको व्यक्ति हो ।

उहाँकै जन्मदिनमा देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो अभिव्यक्तिपछि प्रचण्डको सर्वत्र आलोचना हुँदै आएको छ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँगै रहेको मञ्चबाट प्रधानमन्त्री प्रचण्डले भारतप्रति अनुराग देखाउँदै यस्तो अभिव्यक्ति दिएपछि एमालेले हिजो संसदीय दलको बैठक नै राखेर संसदमा यो विषयमा कुरा उठाउने निर्णय गरेको थियो । हिजोको बैठक एमालेलगायतका दलको अवरोधका कारण अबरुद्ध बन्यो ।

एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले उहाँ प्रधानमन्त्रीकै पदमा रहिरहने नैतिक, संवैधानिक र राजनीतिक हैसियत आधार समाप्त गर्नुभएको छ भन्ने निष्कर्ष निकालेको छ ।