प्रचण्डको गलत अभिव्यक्तिमा देउवा, नेपाल र उपेन्द्रको टेको, विश्वप्रकाश रुष्ट, गगन चुपचाप
काठमाडौँ, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि आफूलाई प्रधानमन्त्री बनाउन सरदर प्रीतम सिंहले पटकपटक भारत लगेको भन्दै दिएको विवादास्पद अभिव्यक्तिको सत्ता गठबन्धनको बैठकले बचाउ गरेको छ ।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रचण्डले प्रधानमन्त्री पदमा रहिरहने नैतिक आधार समाप्त गरेको निष्कर्ष निकालिसकेको छ ।
एमाले संसदीय दलको बैठक बस्दै एमालेले यस्तो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री प्रचण्डले प्रीतमको ८८ औं जन्मदिन मनाउने अवसरमा आयोजित कार्यक्रममा उहाँकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन गर्दै आफुलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर प्रीतम धेरै पटक दिल्ली पनि जानुभएको भन्दै विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । जम्मू–कश्मीरमा ८८ वर्ष अघि जन्मिनु भएका सरदार प्रीतम करीब ६५ वर्षदेखि नेपालमा बसोबास गर्दै आउनु भएको व्यक्ति हो । उहाँकै जन्मदिनमा देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो अभिव्यक्तिपछि प्रचण्डको सर्वत्र आलोचना हुँदै आएको छ । उहाँको त्यस्तो अभिव्यक्तिपछि एमालेले प्रधानमन्त्रीको राजिनामा माग गरेपछि सत्तापक्षको बैठक बसेको हो ।
बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिदैँ नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत र बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।
यता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदर प्रीतम सिंहले पटकपटक भारत लगेको भन्दै दिएको विवादास्पद अभिव्यक्तिबारे मुख खोल्नु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत के बोल्दा कस्तो असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको भन्दै मुख खोल्नु भएको हो ।
‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो,’ उहाँले लेख्नुभएको छ, ‘मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्री कै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’
प्रधानमन्त्रीले गलत बोल्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको भएको शर्माको भनाई छ । ‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ सत्तारूढले नै प्रश्न गरेका छौँ प्रतिपक्षको त मूल कर्तव्य नै हो,’ उहाँले भन्नुभएको छ । अर्का महामन्त्री गगन थापाले भने अहिलेसम्म मुख खोल्नु भएको छैन ।
पाण्डेले एमालेले गरेको उक्त निर्णय असंसदीय निर्णय भएको भन्दै संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसदमा आवाज उठाउन पाउने बताउनुभयो ।