रत्ननगर नगरपालिकाद्वारा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा

चितवन, २१ असार । चितवनको रत्ननगर नगरपालिकाले यस आर्थिक वर्षमा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा गरेको छ ।

नगरपालिकाले एक परिवारलाई रु तीन हजार पाँच सयका दरले बीमा गरेको हो । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार यसबाट रु १७ हजार पाँच सयजना प्रत्यक्ष्य लाभान्वित भएका छन् । उहाँले भन्नुभयो, “एउटा परिवारको पाँच जनालाई बीमाले समेट्छ ।” बीमाका लागि नगरपालिकाले रु एक करोड २२ लाख ५० हजार बजेट विनियोजन गरी बीमा गराएको थियो ।

नगरपालिकाले विपन्न परिवारको बीमा गराएको हो । वडा कार्यालयले विपन्न भएकाको तथ्याङ्क लिएर प्रमाणित गरेकालाई बीमा गराइएको हो । यस कार्यक्रमलाई अझ व्यवस्थित बनाएर नागरिकको साझेदारीमा आउँदो वर्ष निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले बीमा नसमेटिएका विपन्नलाई लक्षित गरी रु ३० लाखको छुट्टै विपन्न कोषसमेत बनाएको छ । रत्ननगरस्थित बकुलहर अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सो कोषबाट सहयोग गर्ने गरिएको छ । रु. १० हजारसम्म कोषबाट सोझै उपचार गरिदिने व्यवस्था छ ।

नगरभित्रका नागरिकले आर्थिक अभावमा उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्नेमा नगरपालिका सजग रहेको उहाँले बताउनुभयो । आफ्नो तलब भत्तासमेत विपन्नहरुको सेवामा खर्च गर्दै आउनुभएका प्रमुख सापकोटाले आउँदो वर्ष प्राविधिक विषय पढ्ने १० विद्यार्थीलाई ५० प्रतिशत खर्चसमेत व्यहोर्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार नर्सिङ, एचए लगायतको शिक्षा लिन चाहेर पनि आर्थिक अभावमा अवसर नपाएका सरकारी विद्यालय अध्ययन गरेका जेहेन्दार विद्यार्थीलाई यो कार्यक्रममा समावेश गरिँदै छ ।

नगरपालिकाले अतिविपन्न, अपाङ्गता, दीर्घरोगी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई परिवारको अवस्था हेरी साझेदारीमा स्वास्थ्य बीमाको नयाँ दर्ता तथा नवीकरणको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट यो कार्यक्रम लागू गर्न लागिएको हो । असी वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्यकर्मी पठाइ मधुमेह, उच्च रक्तचाप जस्ता रोगको परीक्षण गर्दै आएको छ ।