एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै गर्यो राष्ट्रियसभा बैठक अवरुद्ध
काठमाडाैं, २१ असार । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजपनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन् ।
दिउँसो १ बजे सुरू भएकाे राष्ट्रियसभाकाे बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सांसद भैरवसुन्दर श्रेष्ठलाई बाेल्नका लागि अनुमति दिंदै गर्दा दलका सबै सांसद उठेर विरोध जनाएका थिए ।
सांसद श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिन पहिलेको एक कार्यक्रममा दिनुभएको अभिव्यक्ति मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध भएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताउनुभयाे ।
उहाँले प्रधानमन्त्रीको भनाइ गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताउनुभयो ।
गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही असार २२ गते शुक्रबार १२.२९ बजे बस्नेछ ।
—