मनाङका चौपायामा पनि लम्पी स्किन
मनाङ, २८ असार । हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग देखिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिनुभयाे ।
उहाँका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ । गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उहाँले बताउनुभयाे ।
किसानले गोरु बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताउनुभयाे। मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको छ । उक्त गोरु होचो कदको रहेको छ । ‘गोरुलाई लम्पी स्किन रोगको उपचार सुरु गरिएको छ, अन्य गाईगोरुसँग सम्पर्क नहुने गरी छुट्टै राख्ने प्रवन्ध मिलाएका छौँ’, कुसुमले भन्नुभयाे ।
मनाङमा पहिलोपटक लम्पी स्किन रोग देखिएको हो । मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप ल्याएको कुसुमले जानकारी दिनुभयाे । मङ्गलबारबाट चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।