वैदेशिक राेजगार व्यवसायीद्वारा श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग घेराउ
काठमाडौं, ३१ असार । वैदेशिक राेजगार व्यवसायीले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको भन्दै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीकाे राजीनामा माग गर्दै अध्यागमन विभाग घेराउ गरेका छन् ।
संघकाे नेतृत्वमा भएकाे घेराउ कार्यक्रममा बिना कारण वैदेशिक राेजगारमा जाने कामदार राेक्न नपाउने भन्दै यसअघि राेकिएका कामदारको हवाई टिकटलगायतमा भएकाे क्षतिकाे अध्यागमन विभागले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै व्यवसायीहरुले कालिकास्थानस्थित अध्यागमन विभाग घेराउ गरेका हुन् ।
व्यवसायीले बदनियतले काम गर्ने अध्यागमन कर्मचारीलाई कारबाहीकाे मागसमेत गरेका छन् । व्यवसायीले महानिर्देशक अधिकारीले भिजिट भिसालाई बढवा दिएर श्रम स्वीकृति लिएर जान लगेका विपन्न अवस्थामा रहेका महिलाहरूलाई राेकेकाे भन्दै आन्दोलनकारीहरूले अध्यागमनमा हुने अनियमितता छानबिन गर्, अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर्, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर्, भिजिट भिसामा हुने सेटिङ बन्द गर्, अध्यागमनको ज्यादती बन्द गर्, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गर्लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागतरुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डनलगयतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदारहरु फर्काइरहेका कारणले महानिर्देशक अधिकारीकाे राजीनामा माग्न बाध्य भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले वैदेशिक राेजगारका लागि कुवेत जान लागेका ३७ जना कामदारलाई शुक्रबार राति पनि फर्काएकाे छ । असार १७ र २८ गते कुवेत जानेक्रममा विमानस्थल अध्यागमनबाट फर्काइएकाहरुलाई व्यवसायीले टिकट काटेर पुनः वैदेशिक राेजगारमा पठाएकोमा विमानस्थल अध्यागमन कार्यलयले फर्काएका थियो ।