हिमाली जिल्ला मनाङका याक र चौँरीमा पनि देखियो लम्पी स्किन
मनाङ, ४ साउन । हिमाली जिल्ला मनाङका पशुमा पनि लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ ।
मनाङमा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो ।
उहाँका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक, नाक (झोपा) र चाैँरी लम्पी स्किनबाट सङ्क्रमित भएका छन् ।
भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको छ। नार्पाभूमि गाउँपालिकामा बाहेक नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।
चामे–२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों–२ को नाचे आलुबारीका पुशमा पनि सङ्क्रमणको जोखिम देखिएको छ ।
यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले उल्लेख गर्दै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउन पुग्ने गरेको जानकारी दिनुभयो ।
रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ । पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिइएको, पशुलाई टोक्ने लामखुट्टे र झिङ्गाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराउन लागिएको उहाँको भनाइ थियो ।