लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी अपनाउन आह्वान

रुपन्देही, ९ साउन । रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् ।

रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान सार्वजनिक गरेको सूचनाअनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेको र यो क्रम बढ्दो रहेको छ । त्यसैले बाढीको उच्च जोखिम हुने स्थान तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानका बासिन्दालाई अपराह्नसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरिएको छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा आज बिहान दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको छ ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

यस्तै जिल्लाको सैनामैना–८ रामापुरमा डुबानमा परेको स्थानीय शङ्खमुनि थारूको घर र सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन डुबानमा परेको छ । स्थानीय इनगुरिया नदीमा आएको बाढीले घर तथा प्रतिष्ठनको भवन डुबाएको हो ।

यसैगरी भारी वर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासी बाढी आउन सक्ने खतरा रहेको जनाउँदै सतर्क रहन अनुरोध गरिएको छ ।