ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो

ललितपुर, १८ साउन । ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । ललितपुरका अधिकांश पशुमा ‘लम्पी स्किन’काे सङ्क्रमण फैलिदै गएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् । उहाँका अनुसार सङ्क्रमण बढ्दो क्रममा रहेको छ ।

केन्द्रले थप क्षति नहोस् भनेर सजकता अपनाएको जानकारी दिँदै उहाँले जिल्लाभरमा आठ हजार तीन सय गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्घको खोप लगाइसकेकोे बताउनुभयो ।

गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैँसीलाई खोप लगाएको छ भने यहाँ सङ्क्रमित सङ्ख्या दुई सय ९६ पुगेको छ ।

“उपत्यकामा कूल सङ्क्रमित पशुको सङ्ख्या १२ हजार आठ सय ७३ पुगेको छ”, तिमिल्सिनाले भन्नुभयो, “गाईभैँसी सङ्क्रमणमुक्त एक हजार १७ छन् भने मर्नेको सङ्ख्या एक सय ७४ पुगेको छ ।”