मकवानपुर पहिरो अपडेट : बेपत्ता दुई जनाको शव भेटियो, तीन जना अझै बेपत्ता
मकवानपुर, २४ साउन । मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा गएकाे पहिराेमा परी बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ ।
मंगलबार बिहान वर्षासँगै आएको पहिराेले घर बगाउँदा बेपत्ता भएकामध्ये थप दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको हाे ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्की अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो । यससँगै उक्त पहिरामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मंगलबार साँझ जीवितै उद्धार गरिएको थियो । उनको करिब सात किलोमिटर तल बागमती खोलाको किनारबाट उद्धार गरिएको हो । घिसिङको खुट्टामा समस्या देखिएको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै उक्त पहिराेमा परेर तीन जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी छन् ।
प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।