अपहरणपछि बन्धक बनाएर कुटपिट गरेको आरोपमा ७ जना पक्राउ

दाङ, ५ भदौ । अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा दाङबाट प्रहरीले सात जनालाई पक्राउ गरेकाे छ ।

घोराही उपमहानगरपालिका-१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही १९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिमबहादुर घर्ती मगर र दुई जना नाबालिग रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।

आइतवार राति विकलाई अपहरण गरी रा१ह ४१३१ नम्बरको अटो रिक्सामा राखेर घोराही १९ थकालीकोटस्थित दीपक सुनारको खाली घरमा पुर्‍याएर कुटपिट गरी घाइते बनाएको अवस्थामा प्रहरीले फेला पारेको हाे ।

प्रहरीका अनुसार घाइते विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पक्राउ परेकाहरुले घाइते विकले पैसा चोरी गरेको आरोपमा अपहरण शैलीमा बन्धक बनाई कुटपिट गरेको प्रहरी समक्ष बताएका छन् ।