गठबन्धनलाई भक्तपुरबाट ओलीको जवाफः माकुराको जालमा भैंसी पर्दैन

भक्तपुर, ७ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कार्यकर्ताले पूर्वाञ्चलमा उत्पात मच्चाउने काम गरेको आरोप लगाउनु भएको छ ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भक्तपुर जिल्लाले गरेको बृहद भेलालाई सम्वोधन गर्दै ओलीलेयस्तो आरोप लगाउनु भएको हो । ‘प्रचण्ड र माधव नेपालजीका कार्यकर्ता छन् । कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन् । उता भोट हाल्न निर्देशन गर्छन् आइसकेपछि हुँदैन भन्छन्,’ ओलीले भन्नुभयो, ‘उफ्रने किरात, राईहरू छन् उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल ।’

ओलीले कोशी प्रदेशमा भएका राजनीतिलाई नुवाकोटमा साँढे जुधाई खेलको संज्ञा दिनुभयो । ‘ती साँढेको केही दुस्मनी हुँदैन । भेट्या पनि होइन कहिल्यै । आ–आफ्नो थलोबाट फुकाएर अखडामा ल्याएर भिडाउँछन् । उसको भाँचिन्छ सिंह अरु चाहीँ छेउमा बसेर ताली पड्काउँछन्,’ ओलीले भन्नुभयो, ‘प्रचण्ड र माधन नेपाल नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् त्यो कुरा हुन दिइँदैन । जनजातिको नाममा यी बाहुनले लडाएको हेर्नुस् त त्यहाँ ।’

ओलीले थप प्रष्ट पार्दै भन्नुभयो, ‘मैले बाहुन किन भनेको भने किन साम्रदायिक नारा दिनुहुन्छ । लेख्नुस् न तपाईँको थर तर साप्रदायिक नारा किन दिनुहुन्छ । जनता किन भिडाउनुहुन्छ टाउको उनीहरूको फुट्छ । जातीय नाराको रूपमा ।’

अउहाँले केही अघि झापा जाँदा जातीय नारा उचालेर ढुंगा हानेको स्मरण गराउनुभयो । ‘एउटा ताप्लेजुङको बाबु प्रहरीमा इन्स्पेक्टर भर्खरै जागिर खान गएको रहेछन् । उनको टाउको फुटाइदिए । कसले फुटाइदिए भन्दा त लिम्बूको टाउको लिम्बूले हानेको ढुंगाले फुटायो । अनि कुन जातीय कुरा हो,’ उहाँले भन्नुभयो, ‘अर्को एउटा चौधरी अर्को राई र लिम्बूको बीचमा क्षेत्रीबाहुन घुसेको छ । त्यसले चौधरीको टाउको फुटाइदिएको छ । विराटनगरको जुलुसमा आफ्नो साथीको टाउको आफैंले फुटाएर मारे अरुले यो र त्यो गर्‍यो भनेर उत्पात मच्चाए । अझै जनता सचेत नभएर अरुले उचालेर लडाएको भरमा ।’

त्यसैगरी ओलीले सम्वोधन गर्दै आफूलाई माकुराको जालोमा हाल्ने प्रयास भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । ‘म प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, गृहमन्त्री हुँदा कतै नचिप्लियोस् भनेर कानुन पल्टाइ–पल्टाइ फैसला–निर्णय गरेको छु। त्यसकारण यिनीहरूका इच्छाले केही हुँदैन,’ ओलीले भन्नुभयो, ‘माकुराको जालोमा भैंसी पर्दैन, यिनीहरूले बुझ्नुपर्छ। यिनीहरू माकुराको जालो बनाएर हिँड्छन्, केपी ओलीलाई पार्न। केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ?’ उहाँले आफूलाई कसैले गोली हान्न सक्ने भन्दै त्यसमा आपत्ति नभएको बताउनुभयो ।

‘पहिला पञ्चायतकालमा हुँदै नभएका कुरामा दस वर्ष कैद गर्‍यो। दस वर्ष पूरा भएपछि ४ वर्ष यसै थुन्यो। म १४ वर्ष जेल बसें,’ उहाँले भन्नुभयो, ‘त्यस्तै गर्ने हो भने बेग्लै कुरा, झूटैमा जाने हो भने बेग्लै कुरा, तर कानुनले केपी ओलीलाई हत्कडी लगाउने कुनै ठाउँ छैन। केपी ओलीले राख्दै राख्दैन। किन केपी ओली ढुक्कले बोल्छ ? यसकारण कि, मलाई थाहा छ, विरोधीहरू छन्, तिनले पाएसम्म न्यायका विरूद्ध, सत्यका विरूद्ध, काम गर्छन्। त्यस्ता तत्त्व छन्। तिनीहरू आइलाग्न सक्छन्। म कानुनी रूपमा पनि सतर्क छु तिनीहरूसँग। एक शब्द कतै नचिप्लियोस् भनेर ।’ उहाँले अहिले फोहोरी हावा बगेको आरोप लगाउनुभयो ।