संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन आज

काठमाडौं, १० भदौ : प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस चार, नेकपा एमाले तीन, माओवादी केन्द्र दुई, एकीकृत समाजवादी एक, जनमत पार्टीको एक सिटमा दाबी रहेको विषय सार्वजनिक भएको छ ।

प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति रहेका छन् ।

पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिले पनि सोमबार नयाँ नेतृत्व प्राप्त गर्ने छ ।

हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *