भाषण कलासँगै पौरखी अभियानमा एमाले बागमती सम्पर्क कमिटी

काठमाडौं, १० भदौ । पछिल्लो समय मानिसहरुमा उद्यमशील अर्थात परिश्रम गर्ने बानी हराउँदै जान थालेको छ । अझ राजनीति गर्नेहरुका लागि त उद्यमशील बन्ने कुरा एकादेशको कथा जस्तो बन्दै गएको छ । मञ्च पायो भने लम्बेतान भाषण गर्ने र राजनीतिकै नाममा अनेकथरी काम गर्ने चलन पनि पछिल्लो समय बढोत्तरी भएको हो कि भन्ने आरोप राजनीतिक दलहरु स्वयंले खेप्ने गरेका छन् ।

जनताको बिचमा जाने, जनताको श्रमसँग घुलमिल हुने चलन पनि विस्तारै हराउँदै जान थालेका छन् । सीप सिकौं, उद्यमी बनौँ भन्ने नाराहरु ओझेल पर्दै गएका बेला नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटी भने अहिले पौखरी हातहरु खोज्दै हिँड्न थालेको छ ।

अहिले बागमती प्रदेश सम्पर्क कमिटीको नेतृत्व विद्यार्थी पृष्ठभूमिबाट आउनु भएका अशोककुमार ठकुरीले गर्नुभएको छ । हो, कुनै समय अनेरास्ववियु भनेपछि रचनात्मक, सिर्जनात्मक काममा बढी केन्द्रित देखिन्थ्यो । त्यहि पृष्ठभूमिका ठकुरीको अहिले हुटहुटी पनि पौरखी हात बढाउनेमा केन्द्रित हुन थालेको छ ।

बागमती प्रदेशमा अहिले १३ वटा जिल्ला छन् । त्यसमा पनि काठमाडौं, ललितपुर र भक्तपुरलाई उपत्यका भित्र समेटिएको छ भने बाँकी १० जिल्ला बागमतीको क्षेत्राधिकार भित्र पर्छन् । अहिले ठकुरी यी दश जिल्लाको सम्पर्क कमिटीको नेतृत्व गरिरहनु भएको छ ।

उहाँकै नेतृत्वमा उद्यमशील विकास गर्ने उदेश्यले साउनको २० देखि २७ सम्म अर्थात ७ दिनसम्म अचार उत्पादन सीप कार्यक्रम सम्पन्न भयो । त्यसैगरी उक्त कमिटीले भदौ २ देखि ९ गतेसम्म उद्घोषण तालिम पनि सञ्चालन गर्यो ।

यी दुबै कार्यक्रममा सहभागीहरुलाई शनिबार एमाले मुख्यालयमा प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सात दिनसम्म १० जिल्लाका २० जनाले अचार उत्पादन सीप सिक्दा तयार पारेका अचार मञ्च नजिकै राखिएको थियो । बागमती प्रदेश सम्पर्क कमिटीको लोगोसहितका ती अचारले पार्टी, संगठनहरु विस्तारै उद्यमतिर आकर्षित भएका छन् भन्ने सन्देश त्यो दृष्यले प्रष्ट देखाउँथ्यो ।

कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेत, सम्पर्क समन्वय कमिटी सचिव इन्द्र भण्डारीसँगै बागमती सम्पर्क समन्वय कमिटीका अध्यक्ष ठकुरी पनि मुस्कानसहित उपस्थित हुनुहुन्थ्यो ।

यी दुबै कार्यक्रममार्फत एकातिर युवाहरुलाई उद्यमी बनाउने र अर्कोतर्फ पार्टी र संगठनले आयोजना गरेका कार्यक्रममा व्यवस्थित ढंगले कार्यक्रम सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्ने उदेश्य राखिएको र त्यो केही हदसम्म यी तालिमले पूरा गर्न सकेको कार्यक्रमस्थलमै रहनु भएको अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।

‘एकले अर्काको कुरा काट्ने र समय बर्बात गर्ने भन्दा पनि पार्टीले अघि सारेको ‘खुशी नेपाली समृद्ध नेपाल’को आकांक्षा पूरा गर्न सबैलाई रोजगारीमा केन्द्रित गर्नुपर्छ भन्ने उदेश्यले हामीले पौरखी अभियान अघि बढाएका हौँ,’ अध्यक्ष ठकुरीले भन्नुभयो, ‘हामीले ७ दिनसम्म करीब १५ प्रकारका अचार बनाउने सीप सिकायौँ । यो सीप सिकेपछि आचार बनाउने कौशल उहाँहरुले प्राप्त गर्नुभयो भन्ने लागेकोछ । योसँगै उहाँहरुले चाहेको अवस्थामा सानो लगानीमा पनि अचार उत्पादन गर्ने आत्मवल पनि उहाँहरुले प्राप्त गर्नुभयो होला भन्ने विश्वास लिएका छौँ ।’

एकहप्तासम्म मिरा बजगाईँले अचार बनाउने तालिम दिएको र उहाँ स्वयं उद्यमी भएकाले पनि सीप सिकेकाहरुले भविष्यमा उद्यमी बन्न सहज हुने ठकुरीले जानकारी दिनुभयो ।

यस्ता सीपमुलक तालिमहरु अब तालिका बनाएरै अघि बढाउने भन्दै ठकुरीले पहिलो चरणमा अचार बनाउने तालिम २० र उद्घोषण ४९ जनालाई दिएको जानकारी दिनुभयो । ‘शनिबार हामीले पहिलो चरणको उद्घोषण र अचार बनाउने सीप सिकेका ६९ जनालाई प्रमाणपत्र वितरण गरेका छौँ,’ ठकुरीले भन्नुभयो, ‘यो कार्यक्रमबाट हामी उत्साहित भएका छौँ । आगामी दिनमा थप व्यवस्थित ढंगले आवश्यकता हेरेर यीसँगै अन्य थप कार्यक्रम पनि अघि बढाउने छौँ ।’

उहाँले अवको युग उद्यमको युग भएको भन्दै राजनीतिमा पनि अब गफ होइन सीप चल्ने भन्दै सबै रोजगारमुखी कार्यक्रममा लाग्नुपर्नेमा जोड दिनुभयो । ‘आत्मनिर्भर जति ठूलो शक्ति केहीमा छैन,’ उहाँले भन्नुभयो, ‘स्वदेशमै केही गरौँ, आत्मनिर्भर बनौं भन्ने उदेश्यसहित हामी यस्ता कार्यक्रममार्फत जनताको विचमा जाने योजनसहित अघि बढेका छौँ ।’