इन्द्रजात्राको लागि महानगरले बनाएको पाँच करोडको अक्षय कोष अझै अलपत्र
काठमाडौं, १२ भदौ । काठमाडौंका प्रमुख जात्राहरू मध्ये एक रहेको इन्द्रजात्रा सुचारुपूर्वक सञ्चालन गर्न आजभन्दा चार वर्ष अघि काठमाडौं महानगरपालिकाले घोषणा गरेको अक्षय कोष अहिलेसम्म खडा हुन सकेको छैन । पाँच करोड रुपैयाँको धनराशी रहने उक्त कोषमा अहिलेसम्म पनि रकम जम्मा नभएका कारण इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीहरू अहिले पनि सरकारी कार्यालयहरू धाइरहन बाध्य भएका छन् ।
यही क्रममा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्य नेतृत्वको समूह आज बागमती प्रदेशका संस्कृतिमन्त्री पुकार महर्जनलाई भेट्न प्रदेश राजधानी हेटौंडा पुगेको छ ।
अध्यक्ष शाक्य लगायत उपाध्यक्ष दीपकप्रसाद श्रेष्ठ र संस्कृति अभियन्ता शैलेश शाक्य बरेजु रहेको उक्त टोलीले आज हेटौंडामा प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री महर्जनलाई भेटेर अक्षय कोष र त्यसमा जम्मा गर्नुपर्ने रकमसम्बन्धी विवरण रहेको फाइल हस्तान्तरण गरेको छ ।
चार वर्ष अघि कोष गठन हुँदा त्यसमा काठमाडौं महानगरपालिकाले साढे एक करोड, संघीय सरकारले दुई करोड, प्रदेश सरकारले एक करोड र गुठी संस्थानले ५० लाख रुपैयाँ प्रदान गर्ने सहमति भएको थियो । तर कोषमा भने अहिलेसम्म एक सुको रकम पनि जम्मा नभएको अध्यक्ष शाक्यले बताउनुभयो ।
त्यसैले सहमति अनुसार कोषमा रकम जम्मा गर्न अनुरोध गर्दै उहाँहरू सरकारी कार्यालयहरू चाहार्दै हिँडिरहनुभएको हो ।
अध्यक्ष शाक्यका अनुसार आज प्रदेशका संस्कृतिमन्त्री पुकार महर्जनलाई फाइल हस्तान्तरण गरे पनि यो वर्ष बजेट नभएका कारण अर्को वर्षको बजेटमा मात्रै रकमको व्यवस्था गर्न सकिने जवाफ मिलेको छ । हेटौंडाबाट फर्केर अब त्यस्तै व्यहोराको चिठ्ठी गुठी संस्थानलाई पनि हस्तान्तरण गर्ने तयारी रहेको छ ।
चार वर्ष अघि जुनबेला कोष गठनको घोषणा भयो, त्यति बेलै सबै सम्बन्धित सरकारी कार्यालयहरूलाई पत्र पठाएर रकम जम्मा गर्न अनुरोध गरिएको थियो । तर जम्मा भएन । अहिले सबै तहमा सरकार परिवर्तन भइसकेको छ । पहिले पठाइएका चिट्ठीहरु कुनै पनि सरकारी कार्यालयमा सुरक्षित छैन । त्यसैले सबै ठाउँमा फेरि नयाँ नै चिट्ठी पठाउनुपर्ने अवस्था छ ।
शाक्य भन्नुहुन्छ, ‘सबै ठाउँमा नयाँ मान्छे आएको देख्छु । पहिलेको कुरा केही पनि थाहा छैन । त्यसैले फेरि नयाँ शिराबाटै कुरा भन्नुपर्ने हुन्छ । तै पनि यसपाली सबै निकायबाट सकारात्मक उत्तर पाएको छु । यो वर्ष कोष खडा होला कि भन्ने विश्वास लिएको छु ।’