११ बजे हुने भनेको एमाले सचिवालय बैठक ढिला सुरु हुने, नेताहरु कार्यक्रमस्थल जाँदै

काठमाडौं, १३ भदौ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१४, सर्रे अम्वासमा आज बिहान ११ बजे बस्ने तय भएको नेकपा (एमाले) सचिवालय बैठक केही घण्टा ढिला सुरु हुने भएको छ । नेकपा (एमाले) का शीर्ष नेताहरू चढेको जहाज जनकपुर अवतरण गर्नेबेलामा प्राविधिक समस्या आई काठमाडौं फर्किएपछि फेरि अर्को जहाजमार्फत जानुपर्ने हुँदा बैठक ढिला सुरु हुने भएको हो ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुरेन्द्र पाण्डेसहितका नेताहरू चढेको जहाज विराटनगरमा अवतरण भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङलगायत चढेको जहाज प्राविधिक कारण जनकपुर अवतरण गर्न नसकी काठमाडौं फर्काइएको र फेरि अर्को जहाजमा जानु पर्ने भएकाले सबै नेता पुग्न ढिला हुँदा बैठक पनि ढिला हुने भएको हो ।

मैत्रिन्युजसँग १ बज्नै लाग्दा कुराकानी गर्दै उपाध्यक्ष सुरेन्द्र पाण्डेले कार्यक्रमस्थल पुग्न अझै एक घण्टा बढी लाग्ने जानकारी दिनुभयो । अर्को जहाजमार्फत पुन विराटनगर पुग्नु भएका अर्का उपाध्यक्ष सुवास नेम्वाङले पनि कार्यक्रमस्थल पुग्न अझै एक घण्टा लाग्ने बताउनुभयो । ‘हामी धेरै कमरेडहरु अहिले कार्यक्रमस्थलतर्फ जादैँछौँ,’ नेम्वाङले भन्नुभयो, ‘कार्यक्रमस्थल पुग्न अझै एक घण्टा जति लाग्छ होला ।’