मोरक्कोकाे भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो
एजेन्सी, २४ भदौ । शुक्रबार राति मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ ।
मोरक्कोको गृह मन्त्रालयकाे अनुसार भूकम्पमा परी कम्तीमा एक हजार चार सय भन्दा बढी सख्त घाइते भएको छ ।
मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
मन्त्रालयले भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेकाे पनि बताएकाे छ । मन्त्रालयले भूकम्पबाट मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया अधिक प्रभावित भएकाे जनाएको छ ।
भूकम्पबाट भयभीत मोरक्कोका प्रभावितहरू अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।
शक्तिशाली भूकम्प पश्चात साना–साना भूकम्पका धक्काहरू अझै गइरहेकाे सञ्चार माध्यमले बताएका छन् ।