ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु

एजेन्सी, २५ भदाै । ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ ।

आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे डो सुल राज्यका ६० वटा शहर र छिमेकी राज्य सान्टा क्याटारिनाका केही क्षेत्रमा सोमबारदेखि मुसलधारे वर्षापछि बाढी र पहिरो गएको थियो ।

बाढी र पहिरोका कारण २२४ जना घाइते भएका थिए भने १४ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको थियो ।

सबैभन्दा बढी प्रभावित शहर मुकुममा १६ र रोका सेल्समा १० जनाको मृत्यु भएको छ । ब्राजिलका उपराष्ट्रपति गेराल्डो अल्कमिनले आइतबार उक्त क्षेत्रको भ्रमण गरी चक्रवातबाट प्रभावित प्रत्येक व्यक्तिलाई करिब १६० अमेरिकी डलर क्षतिपूर्ति दिने सरकारको योजना को घोषणा गर्नुभएको छ ।