लिबियाको बाढीमा २० हजार भन्दा बढी मानिसको मृत्यु भएको अनुमान, ५ हजार बढीको शव भेटियो

एजेन्सी, २८ भदाै । लिबियाको उत्तरपूर्वी तटीय शहर डेर्नामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५ हजार २ सय पुगेको छ भने २० हजार भन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएकाे छ ।

बुधबारसम्म बाढीमा परी मृत्यु हुनेको संख्या ५ हजार नाघेको र मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको तथा मृतक र बेपत्ताको यकिन विवरण आउन एक साता लाग्ने द न्युयोर्क टाइम्सले जनाइएकाे छ ।

ग्रीस, टर्की र बुल्गेरिया हुँदै लिबिया पुगेको डेनियल नामको सामुद्रिक आँधीका कारण लगातार वर्षा भएपछि डेर्नाका दुई वटा बाँध फुटेका थिए। बाँध फुटेपछि आएको बाढीले तटीय शहर डेर्ना तहसनहस पारेको हो।

बाढीका कारण डेर्ना शहर खण्डहरमा परिणत भएको छ । त्यहाँका भग्नावशेषभित्र अझै पनि हजारौंको संख्यामा मानिसहरूका शव हुनसक्ने अनुमान गरिएको छ।

डेर्नाका मेयर अब्दुलमेनम अथ धैथीले मृतकको संख्या २० हजार पुग्नसक्ने बताएको अल अरबिया टेलिभिजनलाई उदृध गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

बाढीमा अझै १० हजार मानिसहरू बेपत्ता छन्। अस्पतालहरू घाइतेले भरिएका छन्। बाढीका कारण ३० हजार नागरिक विस्थापित भएका छन्।

करिब १ लाख मानिसहरूको बसोबास भएको डेर्नामा बाँध फुटेपछि भएको मानवीय क्षतिको यकिन विवरण आउन कम्तीमा पनि एक साता लाग्ने बताइएको छ।