पर्यटकको आकर्षण केन्द्र बन्दै मनाङ

मनाङ, ३१ भदौ । मनाङ पर्यटकहरूको आकर्षणकाे केन्द्र विन्दु बन्दै गएकाे छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली जिल्लामा पर्यटक आउने क्रम अझै बढ्दो छ । मनाङका विभिन्न स्थान नै प्राकृतिक छटाले भरिपूर्ण भएकाले यहाँ आउने पर्यटक बढ्दै गएको स्थानीय बताउँछन् ।

विगतमा बाह्य पर्यटक बढी आउने यस स्थानमा हाल आन्तरिक पर्यटकको पनि आगमन हुने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ । नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएका कारण पर्यटक बढ्दै गएको हाे

कार्यालयका अनुसार बाह्य पर्यटकको सङ्ख्या सङ्कलन गर्ने भए पनि आन्तरिक पर्यटकको सङ्ख्या टिपोट गरिएको हुँदैन ।

बाह्य पर्यटकले पदयात्रा बढी मन पराउँछन् भने आन्तरिक पर्यटक सवारी साधनमार्फत यहाँ आउने गर्दछन् । विदेशी पर्यटक पदयात्राकै क्रममा यहाँको मनमोहक दृश्यमा रमाउन रुचाउँछन् । विदेशीले बिरामी भएमा मात्रै सवारी साधन प्रयोग गर्ने गरेको पाइएको एक्यापले जनाएको छ ।

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बेमौसममा कम मात्रामा यहाँ बाह्य पर्यटक आउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “याम सुरु भयो, अब पर्यटक आउने क्रम बढेको छ, बाह्यसँगै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने क्रममा रहेको छ ।”

अझै मध्य याममा यहाँ पर्यटक बढ्ने उहाँले बताउनुभयो । मनाङ पर्यटकको ‘हब’का रुपमा विकास हुँदै गएको गुरुङले बताउनुभयो । मनाङ पर्यटकको हबमा विकास हुँदै गर्दा यहाँ पर्यटक रहनका लागि व्यवस्थापनमा स्थानीयको जोड छ ।

मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ निवासी ७९ वर्षीय याङदुङ गुरुङले विदेशी पर्यटकसँगै यस याममा यहाँ आन्तरिक पर्यटक बढी आउने समय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले विदेशी मात्रै हुन्थे, अहिले विदेशीसँगै नेपाली पर्यटक धेरै आउँछन्, मौसममा पिसाङमा रहेका ४८ होटल पूरै भरिन्छन् ।” याम सुरु भएकाले पर्यटक दैनिक रुपमा बढ्दै गएका उहाँले बताउनुभयो ।

दुई सिजन गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन् । हिमाल, उच्च पहाडका दृश्यावलोकन, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी कोही मुस्ताङ त कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पदयात्राको सुरुआत हुन्छ ।

अन्नपूर्ण पदमार्ग लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लामा जोडिएको छ ।