क्यानडेली शिख नेताको हत्या पछि दुई देशबीच चुलियो तनाव, दुवै देशले निकाले कूटनीतिज्ञ
काठमाडाैं, २ असाेज । क्यानडेली शिख नेताको हत्या पछि दुई देशबीच चुलिएकाे तनावले भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेकाे छ ।
क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो ।
क्यानडेली प्रधानमन्त्री जस्टिन टुडो ले सोमबार संसदमा बोल्दै शिख समुदायका नेता हरदिप सिंह निज्जारको गत जूनमा भएको हत्यामा भारत सरकारका एजेन्टहरूको हात रहेको बताएका थिए । टुडोका अनुसार क्यानडा सरकारले आफ्ना गुप्तचरमार्फत यो सूचना प्राप्त गरेको हो । यस सम्बन्धमा आफूले जी २० को बैठकमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुरा गरेको उनले जानकारी दिए ।
‘क्यानेडियन भूमिभित्र क्यानडेली नागरिकको हत्या एउटा विदेशी सरकारको कुनै पनि किसिमको संलग्नता हाम्रो सार्वभौमिकताको उल्लंघन हो र यो अस्वीकार्य छ,’टुडोले भने । शिख स्वायत्तताको वकालत गर्दै आएका निज्जारको हत्यामाथि अनुसन्धानका लागि समन्वय गर्न भारतलाई दबाब दिने उनले बताएका थिए ।
यो निर्णयले भारतको आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नता देखिएको विदेश मन्त्रालयका एक जना अधिकारीले बताएका छन् । विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको भारतमाथि क्यानडाले लगाएको आरोपलाई विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आधारहीन भएको टिप्पणी गरेका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को आकष्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँदिल्ली संलग्न रहेको आरोप लगाउनुभएको थियाे । गत जुनमा निज्जर ब्रिटिस कोलम्बियामा मृत अवस्थामा भेटिएका थिए ।