इन्द्रजात्राको यःसिं भोटाहिटी आइपुग्यो
काठमाडौं, ४ असोज । काठमाडौंको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रा अर्थात यँयाःको लागि ल्याइएको यःसिं (इन्द्रध्वज) शनिवार नगर प्रवेश गराई हनुमानढोका लगिने भएको छ । अहिले यःसिंलाई भोटाहिटीमा राखिएको छ ।
शनिवार बिहान १०ः३९ बजेको साइतमा यःसिंलाई भोटाहिटीदेखि तानेर बाजागाजा सहित हनुमानढोका पु¥याइने छ ।
त्यसपछि असोज ९ गते मंगलवारका दिन बिहान १०ः३७ बजे हनुमानढोकामा यःसिं ठड्याइने साइत निकालिएको छ । यःसिं अर्थात इन्द्रध्वज उठाएपछि इन्द्रजात्रा आरम्भ भएको मानिन्छ ।
इन्द्रजात्रामा उठाइने यःसिं भक्तपुरको चित्तपोलस्थित यःसिंखेलबाट ल्याउने गरिन्छ । सो ठाउँमा वृक्ष कटन गरी त्यसको मुढालाई बाटोभरि तानेरै काठमाडौंसम्म ल्याउने परम्परा रहेको छ ।
बीचमा केही वर्ष यःसिंलाई क्रेनले उठाएर काठमाडौंसम्म ल्याउने गरिएको थियो । तर यो वर्ष भक्तजनहरूको सुझावलाई ध्यानमा राखी चित्तपोलदेखि काठमाडौंसम्म पूरै तानेर ल्याइ पु¥याइएको थियो ।
चित्तपोलदेखि ल्याइएको यःसिंलाई केही दिन भोटाहिटीमा राख्ने गरिन्छ । अहिले जुन ठाउँमा यःसिं राखिएको हो, मल्लकालमा यो काठमाडौ प्रवेश गर्ने द्वार थियो । विदेशी पाहुना वा विशिष्ट व्यक्तिहरू काठमाडौं आउँदा मल्ल राजाहरूले आफै वा भारद्वारलाई पठाएर यही भोटाहिटीको द्वारदेखि स्वागत गर्दै हनुमानढोका दरवारसम्म ल्याउने गरिन्थ्यो ।
इन्द्रजात्रा नजिक आएसँगै यो जात्रामा निकाल्नुपर्ने विभिन्न नाचहरुको पनि तयारी शुरु भएको छ । अहिले लाखे, हल्चोक आकाश भैरव, पुलुकिसिका मुखौटाहरू पुनः रंगाउने कार्य भइरहेको छ भने दीप्याखं अभ्यास गराउने कार्य पनि अघि बढिरहेको छ ।